-चूडामणि नेपाल ‘अकिञ्चन’
‘के गर्नु छ अब ? किन पर्खिने तिमीहरुलाई ? बाँचुञ्जेल कहिल्यै हेरेनौ, दुःखमा एकैदिन सघाएनौ ? मुखै हेर्ने हो भने फोटो र भिडियोमा हेर, हामी आफ्नो काम गर्छौ ।’ दाइ फोनमा जङ्गिए ।
‘दाइ के भन्नु भएको यस्तो अवस्थामा पनि, कति पैसा लाग्छ अस्पतालमा राख्नु हामी आएर पैसा तिर्छौ । हामीले चाहिं अन्तिमपटक मुख हेर्न पनि नपाउने ?’ भाइ अलि जङ्गिएको सुनियो । जीवनभर आँगन नटेक्ने र घर अगाडी आइपुग्दा मुख बटारेर हिंडनेहरु पनि खुव सहानुभूति दिंदै थिए आज ।
‘बरा कमल पण्डित जी बाँचुञ्जेल अस्पताल टेक्नु भएन, मरेपछि कहाँको अस्पताल लाने कुरा गर्नुहुन्छ लास बासी पार्नु हुन्न, उहाँले बारम्बार भन्नुहुन्थ्यो । लु बरु लैजाने तयारी गरौँ ।’ छिमेकी बोल्यो ।
घरका सदस्यहरुलाईभन्दा बाहिरकाहरुलाई हतार भई रहेको थियो । ‘हतार छ भने किन आउनु भो ? जानुहोस न, हामी तेह्रदिने आफन्त पनि बीस तीस जना छौँ । भएन भने शब बाहन आउँछ ।’ दाइ फेरि रिसाए । ‘होइन यस्तो बेलामा पनि कस्तो रिसाउनुहुन्छ तपाई, गाउँलेको पनि त कुरा सुन्नु पर्छ यस्तै बेलामा त गाउँले र छर छिमेकीको आवश्यकता पर्छ । ‘मर्दाका मलामी’ त्यसै भनेको हो र ।’ छिमेकी घुस्रिन खोज्यो ।
‘मलाई थाहा छ सबै गाउँलेको आवश्यकता पर्छ, तर तपाईँहरुको एकदिन र एकछिनको सहानुभूतिले केही हुँदैन । यो पारिवारिक एकता र अटुट सम्बन्धको कुरा हो । भाइ बहिनी, छोरीहरु सबै बाहिर छन्, म परिवारलाई छाडेर तपार्इंहरुको मात्र हुन सक्दिन । तपाईहरु अहिले जान सक्नुहुन्छ । हामी सल्लाह गरेर निर्णय गर्छौ ।’शव बाहन आइपुग्यो । बरा ! कमल पण्डित, बाँचुञ्जे अस्पताल टेकेनन्, अहिले अस्पतालको शव गृहमा एक्लै आफन्तको प्रतीक्षा गरिरहेछन ।
विराटनगर-१