इन्दु साह
विराटनगर । विराटनगरसहित कोशीका विभिन्न जिल्लाका उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सीमापार भारतको नजिकैको बजारलाई रोज्ने गरेका छन्। यो प्रवृत्तिले स्थानीय बजारमा चुनौती सिर्जना गरेको छ । परम्परा नै बनिरहेको सीमापार बजारको किनमेल वर्षेनी बढेपनि उपभोक्ताहरूलाई अन्जानमै ठगीको शिकार बनिरहेका छन् ।
जोगबनी बजारमा जीरा, चिनी, धनिया, चामल, र पेय पदार्थहरू जस्ता दैनिक उपभोग्य वस्तुहरू विराटनगरको तुलनामा सस्तो मूल्यमा पाइन्छ। उदाहरणका लागि, जोगबनीमा चिनीको मूल्य प्रति केजी ६० देखि ७० रुपैयाँसम्म पर्छ । जबकि विराटनगरमा यसको मूल्य प्रति केजी ९० रुपैयाँ भन्दा माथि छ । तर, धेरै उपभोक्ताहरूले जोगबनीबाट किनेको चिनीको तौलमा कमीसँगै मिसावट हुने कुरामा जानकारी राख्दैनन् । विराट व्यापार संघका अध्यक्ष अंशु बन्जराले यस्ता गुनासोहरू बारम्बार आउने गरेको बताउछन् । अधिकांश नागरिकहरू जोगबनी बजारमा निर्भर हुँदा विराटनगर बजारमा चहलपहल घटेको छ। विशेषगरी चाडपर्वको समयमा जोगबनीमा भीड बढ्ने गर्छ ।
विराटनगरको बजार सुनसान देखिन्छ। विराटनगर र जोगबनी बीचको मूल्य अन्तरको एक प्रमुख कारण वस्तु आयातमा लाग्ने भन्सार महशुल हो । भारतबाट नेपाल ल्याइने वस्तुहरूमा भन्सार कर अधिक छ । जसले गर्दा नेपाली बजारमा ती वस्तुहरूको मूल्य बढ्छ। धेरै विराटनगरका उपभोक्ताहरू यी समस्याहरूबारे अनभिज्ञ छन्। उपभोक्ताहरूले केवल सस्तो मूल्यमा मात्र ध्यान नदिई गुणस्तर र उचित मापनमा पनि ध्यान दिनुपर्ने भएपनि त्यसो गर्दैनन् ।
सरकारले अत्यावश्यक वस्तुको भन्सार दर संशोधन गरेर कानुनी बाटोबाट आयात हुँदा र सीमापार पुगेर खरिद गर्दाको दर समान बनाउनु पर्ने माग उद्योगी–व्यवसायीको छ । धान, चिनी, अन्य उपभोग्य वस्तु आयात गर्दा तोकिएको भन्सार महशुल उच्च हुने गरेकोले नेपालमा वस्तुको मूल्य बढी पर्ने गरेको छ । जसको तुलनामा जोगबनी पुगेर ल्याउँदा धेरै सस्तो पर्दछ । यद्यपी त्यहि सामानको भन्सार बुझाउनु पर्ने अवस्था आए उपभोक्ताका लागि उहि रकम हुन्छ । तर, खुल्ला बजार अर्थतन्त्र र खुल्ला सीमाका कारण उपभोक्ता अधिकारको नाममा उनीहरु सीमापार पुगेर सामान खरिद गर्ने गर्दछन् ।