काठमाडौं । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्रामा सामग्री सिर्जना गरेका छन् । तर, के साँच्चै यी क्षेत्रका मानिसहरू दीर्घायुको विशेष सूत्र बोकिरहेका छन् ?
हालै अष्ट्रेलियाली अनुसन्धानकर्ता डा. शाउल न्युम्यानले यसको गहिरो अध्ययन गर्दै एउटा महत्वपूर्ण तथ्य उजागर गरेका छन् । जसले दीर्घायुको भ्रमलाई चुनौती दिएको छ । उनले पत्ता लगाएका छन् कि यी क्षेत्रहरूको दीर्घायुको एउटा मुख्य कारण त्रुटिपूर्ण रेकर्ड–राख्ने प्रणाली हो ।
डा. न्युम्यानले संसारभर ११० वर्षभन्दा माथि उमेर दाबी गर्ने ८० प्रतिशत मानिसको विवरण खोजे, तर तीमध्ये धेरैसँग जन्म प्रमाणपत्र नै नभएको पत्ता लगाउनुभयो । जापान सरकारले गरेको एक समीक्षा अध्ययनले पनि १०० वर्षभन्दा माथिका ८२ प्रतिशत मानिसहरू वास्तवमा मृत भइसकेका वा सम्पर्कविहीन रहेको देखाएको छ । यसले दीर्घायुको वास्तविकतालाई प्रश्न उठाउँछ । ओकिनावाका मानिसहरूको आहारबारे गरिएका केही मिथकहरूलाई समेत उहाँले खारेज गर्नुभयो । जापान सरकारको पोषण सर्वेक्षण अनुसार ओकिनावाका मानिसहरूले उच्च मात्रामा स्पाम (प्रोसेस्ड मासु) र केएफसीको सेवन गर्छन् । उनीहरूको सब्जी तथा मिष्ठान्न खानपानको स्तर देशको औसतभन्दा तल छ, र उनीहरूले प्रतिवर्ष ४१ किलो मासु उपभोग गर्छन् । यस अध्ययनले उनीहरूको खानपानलाई ‘स्वास्थ्यप्रद’ भनेर प्रस्तुत गरिएको मिथकलाई पनि तोड्न खोजेको छ ।
यो तथ्यले यसो भन्छ कि ‘ब्लु जोन’ भनेर चिनाइएका स्थानहरूका आहारका मात्राहरूसँग दीर्घायुको सम्बन्ध छैन । बरु दीर्घायुमा असर पार्ने मुख्य कुरा भनेको वातावरणीय कारकहरू हुन् । उदाहरणका लागि, शुद्ध खानेपानीको उपलब्धता, राम्रो ढल व्यवस्थापन, स्वास्थ्य प्रणालीमा समान पहुँच, शान्त समाज र अर्थिक समानता जस्ता कुराहरू दीर्घायुको प्रमुख कारक हुन् । यी कारकहरू मुख्य रूपमा सरकारका नीति तथा समाजमा सम्पत्ति वितरणसँग सम्बन्धित हुन्छन्, जुन व्यक्तिगत प्रयासभन्दा बाहिरको कुरा हो ।
जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ अष्ट्रेलियाका कार्यकारी निर्देशक ब्रुस नील्सका अनुसार, शारीरिक गतिबिधिलाई जीवनशैलीमा समावेश गर्नु, हरिया पातदार तरकारीको उपभोग गर्नु जस्ता सल्लाहहरू सही हुन् । तर, ‘ब्लु जोन’ जीवनशैलीको अनुकरण गर्दै नियमित मदिरा सेवनलाई पनि स्वास्थ्यप्रद भनेर प्रचार गर्नु गलत हो, किनकि मदिरा कुनै पनि हृदय स्वस्थ आहारको हिस्सा होइन । प्रमाणित आहार विज्ञ डा. डेजी कोयलका अनुसार, दीर्घायुको लागि कुनै विशेष सूत्र छैन । तर, स्वस्थ आहार, शारीरिक तौलको सन्तुलन, धुम्रपान नगर्ने, नियमित व्यायाम गर्ने र मदिरा सीमित मात्रामा सेवन गर्ने जस्ता तत्वहरूले दीर्घायुमा सकारात्मक भूमिका खेल्न सक्छन् । साथै, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, स्वस्थ सम्बन्धहरू निर्माण गर्ने र जोखिमपूर्ण गतिविधिहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छन् ।
उमेरसँगै रोगको सम्भावना बढ्छ, तर त्यो स्वास्थ्य जीवन बाँच्न नसक्ने कुरा होइन । सिड्नी विश्वविद्यालयका स्वस्थ बुढ्यौलीका प्राध्यापक युन–ही जेउनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने वृद्ध मानिसहरूलाई अध्ययन गर्दै सामाजिक सम्बन्धको दीर्घायुमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँका अनुसार, केही नजिकका मानिसहरूसँगको सम्बन्ध र नियमित सम्पर्कले मानिसहरूको दीर्घायु र जीवनको गुणस्तरमा ठूलो असर पार्न सक्छ ।
ब्लु जोनहरूबारेका मिथकहरू वास्तविकतामा आधारित नभए पनि, दीर्घायुको लागि केही आधारभूत जीवनशैलीका परिवर्तनहरूले योगदान पुर्याउन सक्छन् । तर, दीर्घायुको मुख्य सूत्र व्यक्तिगत प्रयासभन्दा बढी समाज र सरकारले उपलब्ध गराएका अवसरहरूमा निर्भर रहन्छ । दीर्घ जीवन जिउन खोज्नेभन्दा गुणस्तरीय जीवन जिउनमा ध्यान दिनु महत्त्वपूर्ण छ ।