-चूडामणि नेपाल "अकिञ्चन "
"म बाच्दिन होला सर ।" लखन महतो छ्ट्पटिदै बोल्यो ।
"ठ्याक्कै एक वर्ष भएछ हजुर नआएको । खै के गल्ती भयो हजुर । पोहोर यही खोलामा सबै परिवार मिलेर कस्तो धुमधामसङग छ्ठ पर्व मनाएको । खै के भएर सूर्य भगवान् र छठी माता रिसाउनु भयो । मेरो त परिवारै यही खोलाले खायो हजुर ।" ऊ घुक्क गरेर रुन थाल्यो ।
"जीवन भर यही खोलामा छठी माताको पूजा गर्यौं । अस्ति साउनमा दुईवटा छोराछोरी सहित श्रीमतीलाई यही खोलाले खायो हजुर । सामान लिएर आउँदै गर्दा सबैलाई बगायो । श्रीमतीलाई तानेर निकालेँ तर बचाउन सकिन । अस्पताल पुर्याउनै भ्याइन ।" लखन महतो भक्कानियो ।
"हेर लखन सूर्य भगवान् र छठी माता रिसाउनु भएको होइन । अनि पूजामा कुनै त्रुटी भएको पनि होइन । यो प्रकृतिको पूजा हो । प्रकृतिलाई हामीले जित्न सक्दैनौँ । हामीले प्रकृति सँग सावधानी अपनाउनु पर्छ । हेर एक्लो भएछौ । एक्लो भएर बाँच्न गार्हो हुन्छ ।" मैले संझाएँ ।
"खोला झिलिमिली होला सर मलाई त्यहाँसम्म लगिदिनुहोस न एक पटक डुबुल्की मारेर आउँछु ।" "सबै गइसके अब नजाउ ।" मैले संझाएँ । ऊ मानेन ।
साच्चै ऊ सकिनसकी खोलामा डुबुल्की मार्यो । मैले विस्तारै पुलमा लिएर आएँ । अघि डोर्याएर लिएर आएको मान्छे । अहिले फटाफट हिँड्न थाल्यो । ऊ एक्कासि चिच्यायो । छठी माताकी जय । म आश्चर्य चकित भएँ । मैले लखन भाइलाई घर पुर्याएँ । " सर यो वर्ष यस्तै भयो के गर्नु एक्लै बाच्न नसकिने रहेछ । एउटी पैतीस वर्षे विधवाले खुब माया गरेकी छ । अर्को वर्ष सँगै पूजा गरौँला है ।" ऊ आइपुग्ने बेला भो एकैछिन पर्खनु न ।"