विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा निजी विद्यालयहरुले स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाको नियमन लचिलो हुँदा निजीले भर्ना गरेका विद्यार्थीको रजिष्ट्रेशन भने सामुदायिक विद्यालयमा गरेर राज्य स्रोतको दुरुपयोग समेत हुने गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनु पर्ने एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमएस) लाई समेत छल्नका लागि निजीका विद्यार्थी विवरण सामुदायिकमा रजिष्ट्रेशन गराउने गरिएको हो । यसमा निजी विद्यालय सञ्चालक र सामुदायिक विद्यालयको मिलेमतो रहेको आशंका गरिएको छ ।
बर्जु गाउँपालिका–३ मा रहेको कविर पब्लिक बोर्डिङ स्कूलका प्रिन्सिपल बिन्दु कुमारी चौधरीले कक्षा १ सञ्चालन स्वीकृत भएपनि कक्षा ५ सम्म पढाई रहेको बताइन् । उनले आफू असारदेखि मात्रै विद्यालयको स्वामित्व लिएर सञ्चालक भएकोले अगाडीदेखि चलिआएको आधारलाई मानेको जिकीर गरिन् । ‘यो कुरा गाउँपालिकालाई पनि थाहा छ’ प्रिन्सिपल चौधरीले भनिन्–असारमा गाउँपालिकाले स्वीकृत कक्षा मात्रै सञ्चालन गर्नुपर्ने सूचना निकालेको हो, विद्यार्थी भर्ना भईसकेकाले हामीले केहि गर्न सकेनौं । कबिर बोर्डिङले कक्षा २ र ३ का विद्यार्थीको आईईएमएस कक्षा १ मा राखेको छ । कक्षा ४ र ५ को रजिष्ट्रेसन बर्जु गाउँपालिका २ स्थित रामसिता माध्यमिक विद्यालयबाट गराएको खुलेको छ ।
प्रिन्सिपल चौधरीले आफुले विद्यालय लिँदा नै कक्षा ५ सम्म सञ्चालन भईरहेको दावी गरिन् । त्यस अगाडी प्रविन रोय र मनिष कुमार रोयले उक्त बोर्डिङ स्कुल सञ्चालन गर्दै आउनु भएको चौधरीले जानकारी दिइन् । गत बैशाखमा विद्यालय खरिदबिक्री हुँदा चौधरीले लिनु भएको थियो । ‘आगामी वर्षदेखि स्वीकृत कक्षा मात्रै सञ्चालन गर्नेछु या त थप कक्षा सञ्चालन स्वीकृत लिनेछु’ चौधरीले भने–गाउँपालिकाले असारमा मात्रै सूचना निकालेकोले यहि वर्ष करेक्सन गर्न सकिएन ।
कबिर पब्लिक बोर्डिङ स्कूल मात्रै नभई बर्जुको तुलसी बोर्डिङ्ग, एसडिशन बोर्डिङ, सूर्यविनायक बोर्डिङ र निलकण्ठ, सुनसरी अमाहीबेलाको अल्फाबिटा समेत स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको खुलेको छ । यसैगरी एसडिसनको समेत यस्तै अवस्था रहेको छ । यसले समेत सामुदायिक विद्यालयमा विद्यार्थीको रजिष्ट्रेसन गराईरहेको खुलेको छ । सबै विद्यालयका विद्यार्थीको तथ्यांक सामुदायिक विद्यालयमार्फत पठाउँदा सरकारी विद्यालयमा विद्यार्थी तथ्यांक देखिन्छ । यसका आधारमा सरकारले दिने खाजा खर्च लगायत राज्यको स्रोत दुरुपयोग हुने गरेको छ । रजिष्ट्रेसन सरकारी विद्यालय भएपनि विद्यार्थीले शुल्क भने निजीमै बुझाउँछन् र पढ्दै आएका छन् ।
रामसिता माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सुरज मेहताले यस विषयमा गाउँपालिकाकै आग्रहमा कक्षा ६ देखि कक्षा १० सम्म अग्रेजी माध्यम बनाइएको जानकारी दिएका छन् । विद्यार्थीको भविष्य डामाडोल भएपछि हामीले अग्रेजी माध्यम बनायौं अनि निजीका विद्यार्थी हाम्रोमा पढ्न आएका हुन् । बाँकी निजीमा पढेर हाम्रो रजिष्ट्रेशन गराएको भन्ने कुरा गलत हो । हामीसँग नजिक हुने विद्यालयहरुले स्वीकृत नलिइकन कक्षा सञ्चालन गरेको विषय आएपछि सरकारी विद्यालयले सहजीकरण गरेर भर्ना गराएको हो ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत बाबुराम कार्कीले सिस्टम नै छलेर कक्षा सञ्चालन गर्ने कार्य भईरहेको विषयलाई गम्भीरतापूर्वक अध्ययन गरेर कारवाही गरिने बताएका छन् । उनले निजी विद्यालयलाई स्वीकृत दिन लचिलो हुने तर बिना स्वीकृतका कक्षा सञ्चालन नगर्न बारम्बार भनिरहेको बताए । ‘हामीले नियमित अनुगमन गरिरहेका छौं, सूचना पनि जारी गरेका छौं’ शिक्षा अधिकृत कार्कीले भने–यो विषय अब रामसिताका विद्यार्थीको संख्या यकिन गर्ने र विवरण अध्ययन गर्नेतर्फबाट गर्नेछौं ।
केहि निजी विद्यालय सञ्चालकले यो विषय बर्जुका लागि पुरानै भएको बताएका छन् । यसमा सामुदायिक विद्यालयहरुले सहजै निजीका विद्यार्थी रजिष्ट्रेशन गराउन मान्ने गरेकोले धेरै निजी विद्यालय गैरकानुनी रहेको बताइएको छ ।