-रिकेश निरौला
एउटी सारै राम्री केटी थिइन्, जसलाई देखेपछि मन नपराउने कोही थिएन। उसको एक गरिब प्रेमी थियो जो उसलाई धेरै माया गर्थ्यो। उनीहरूको एक आपसमा खुब माया अनि विश्वास थियो। गरिब प्रेमीले भेटमा भन्ने गर्थ्यो, "सानु, तिम्रा सारा रहर त पूरा गर्न सक्दिन, तिमीलाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन। मेरो घरको झुपडीमा राख्दा यत्ति राम्री छौ, सबैको नजर लाग्छ होला।"
"म तिमीलाई सधैं यस्तै माया अनि जीवनभरको खुसी दिन सक्छु, तिमीलाई त्यो भए पुग्छ?" केटी मुस्कुराउथिन् अनि "पुग्छ" भन्थिन्।
एक दिनको कुरा हो, त्यो केटी कुनै धनी केटाको नजरमा परिन्। केटालाई केटी सारै मन पर्यो। उसले सधैं उसको पिछा गर्न थाल्यो र आफ्नो पागलपन देखाउन थाल्यो। "म तिमी बिना बाँच्न सक्दिन" - यस्तै यस्तै। केटी उसको व्यवहार देखेर हैरान भई, तर पनि उसले आफ्नो पागलपन देखाउन छोडेन। "सधैंको झन्झट भन्दा माया गर्छु भनिदिन्छु, कुरै खतम!" केटीले पनि "म माया गर्छु" भनिन्।
जब उनी धनी केटासँग भेट्न गइन्, उसले "हाम्रो पहिलो भेटको उपहार" भनेर उनलाई सुनको सिक्री दियो। उनले पनि स्वीकारिन् र दुवै निकै खुसीका साथ आफ्ना रमणीय पलहरू बिताउन थाले।
समय चल्दै गयो। यसैगरी उनी गरिब आफ्नो प्रेमीसँग पनि मिल्न जान्थिन्। उनको हरपटक शरीरमा एक-न-एक नयाँ सामान देखेर प्रेमीले सोध्यो, "सानु, यस्तो महँगो सामान कसले दियो तिमीलाई? सायद म कहिल्यै दिन सक्दिन होला तिमीलाई। पैसाले सबै थोक किन्न सके पनि सुख-शान्ति अनि चोखो निद्रा कहिल्यै किन्न सकिँदैन। मेरो घरमा खानलाई ढिँडो र गुन्द्रुक पाक्छ, तर पनि मिठो निद्रा लाग्छ। सपना देख्नलाई बिस्तारा होइन, निद्रा चाहिन्छ।" केवल केटी मुस्कुराउथिन् मात्र। क्रमशः यसरी नै समय चक्र बित्दै गयो, अनि त्यो धनी केटाले देखाएको मायाले गरिब केटाको मायालाई पछाडि पार्दै गयो। अनि उनले बिस्तारै-बिस्तारै त्यो आफ्नो पुरानो/गरिब प्रेमीलाई भेट्न छोडिन्। त्यो धनी केटासँग उनले बिहे गर्ने भइन्। यो कुरा गरिब केटाले चाल पायो। उसले अन्तिम पल्ट भेट्छु भनेर बोलायो। केटी गइन्।
केटा मुस्कुराउँदै भन्यो, "राम्रो गर्यौ तिमीले। जीवन जिउनका लागि माया मात्र काफी छैन, जुन तिमीमा देख्दै छु। म तिम्रै खुसी देख्ने चाहने मान्छे हुँ। तिमी खुसी हुनू, तिमी महलमा बसेर मिठो-मिठो परिकार खाऊ, तर म झुप्रोमा बसेर ढिँडो खाएर नै सन्तोष गर्छु। तिमी मखमलको बिस्तरामा निदाऊ, म गुन्द्रीमा सुतेर नै मिठो सपना देख्छु।"
"तिम्रो नयाँ दाम्पत्य जीवनको लागि शुभकामना, तर तिम्रो त्यो महलको खुसी केही समयको लागि मात्र हो। जीवनमा धन-सम्पत्ति मात्र भएर के गर्नु, आफ्नो मनको कुरा नबुझ्ने जीवनसाथी पाइयो भने। बिहे भन्दा अगाडि गरेको माया के माया, बिहेपछि गरेको माया पो साँचो माया हो।" भन्दै केटाले आफू जाने बेलामा आँसु झार्यो अनि भन्यो, "मलाई बिर्से पनि यो आँसुलाई कहिल्यै नबिर्सनु, यो मेरो उपहार हो। तर यो मेरो आँसु साँचो मायाको आँसु हो, यसले तिमीलाई तिम्रो जीवनको अनन्तकालसम्म पनि पोलिरहने छ। तिम्रो कारणले आज मेरो आँखामा आँसु आएको छ भने भोलि त्यही धनी केटाको कारणले तिम्रो आँखामा आँसु अवश्य आउने छ। त्यो बेला तिम्रो आँसु पुछिदिने कोही हुँदैन, तर मेरो आँसु पुछिदिने र मलाई हँसाउने अरु नै कोही मेरो जीवनमा आइसकेको हुन्छ।"
भन्दै केटाले आफ्नो आँसु पुछ्यो र आफ्नो बाइक नेर गएर फेरि भन्छ, "आज मैले चाहेर पनि तिमीलाई आफ्नो बनाउन सकिनँ, तर भोलिका दिनमा तिमीले चाहेर पनि मलाई आफ्नो बनाउन सक्ने छैनौ। यो पृथ्वी गोलो छ, त्यसैले पालो सबैको आउँछ एक-न-एक दिन। अझै केही बिग्रेको छैन माया, एक चोटि राम्रोसँग सोच" भन्दै बाइक स्टार्ट गरेर केटो अघि बढ्छ...!!!