इशु पन्त
विराटनगर । गत मंसिर २ गते विराटनगर–८ अशोकचौकका महानन्द रायको कोशी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । उनी आफ्नै घर भाडा मिटरब्याजीलाई बुझाउनु पर्ने कागजको शिकारमा परेर गत असोज १३ गते, अदालतको आदेश बमोजिम पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
मृतक रायका छिमेकीका अनुसार उनले मिटरब्याजी मन्टु भनिने सन्जय रौनियारसँग ऋण सापट लिएका थिए । त्यस क्रममा धितोमा राखेको जग्गा रौनियारले हडपेका थिए । जग्गा राखेर लिएको ऋण चुक्ता गरेपछि फिर्ताभयो । तर, जग्गा राख्दा नै मन्टुले बसिरहेको घर समेत भाडामा बस्दै आएको भन्ने कागजमा हस्ताक्षर गराएका थिए ।
मन्टु सर्वसाधारणलाई झुक्याएर रकम असुलेको आरोपमा पक्राउ परे । उनी गैरकानुनी असुली अभियोगमा कारागार चलान भए । त्यस बेला धेरै सर्वसाधारणको जग्गा उनले फिर्ता समेत गरे । तर, रायको आफ्नै घरको भाडा बुझाउनु पर्ने शर्त बमोजिमको कागज भने त्यसै रहेको थियो ।
त्यहि कागजका आधारमा उनले राय विरुद्ध अदालतमा मुद्दा दायर गरे । भाडा बुझाउनु पर्ने रकम रायसँग नहुँदा उनी कारगार पुगेका थिए । असजिलोमा परेका बेला लिएको ऋण बुझाएपनि आफ्नै घरको भाडा बुझाउनु पर्ने शर्तको शिकार भएपछि रायमा रोगी समेत बनेका थिए । चिन्तामा परेका राय कारागारमा उच्च रक्तचाप, लिभर, खुट्टामा क्यान्सर, मृगौलासम्बन्धी रोगबाट ग्रसित बने । उनलाई कारागारबाट अस्पताल भर्ना गरिएपनि थप उपचार गर्न रेफर गरिदिएको थियो । तर, उपचार रकम अभाव हुँदा उनको निधन हुन पुग्यो ।
गत कार्तिक २ गते चोरीको अभियोगमा थुनामा रहेका ३४ वर्षीय मनिकुमार भनिने सन्तोष थापाको मृत्यु पनि रोग लागेकै कारण भयो । उनी गत भदौ २१ गतेदेखि कारागारमा थिए । उनको पनि रोगकै कारण निधन भएको हो ।
मोरङ कारागारमा चालु आर्थिक वर्षको दुई महिनामा दुईजना कैदीको मृत्यु भयो । त्यो पनि उपचार गराउन संभव नभएका कारणबाट । राज्यको नियन्त्रणमा भएका नागरिकलाई रोगले ग्रसित बनाउँदा उपचार पनि राज्यले नै गर्नुपर्ने हुन्छ । तर, कारागार प्रशासनले कैदी÷बन्दीको मृत्युमा सजिलै जवाफ दिएर पन्छने गरेको छ । ‘बिरामी परेपछि उपचारका क्रममा मृत्यु’ भन्ने मात्रै कुराले राज्य आफ्ना नागरिकप्रति कति संवेदनहिन छ भन्ने पुष्टि गर्दछ ।
मोरङ कारागार, विराटनगर भित्र कुनै बेला चौकीदारको गुण्डाराजले धेरै नागरिकले ज्यान गुमाए । चौकीदार ल्याउने र पठाउने राजनीतिक स्वार्थमा प्रशासनको अनदेखाको शिकार नागरिक भएका थिए । पछिल्लो समय कारागार भित्रको कमजोरी बाहिर आएको छैन । तर, राज्यको नियन्त्रणमा रहेका नागरिक भने रोग लागेर र उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।
कारागार प्रशासनका अनुसार आर्थिक वर्ष २०८०\२०८१ मा ६ जनाको मृत्यु भएको छ । यसैगरी आर्थिक वर्ष २०७९÷\२०८० मा दश जनाको निधन भएको थियो । यी दुई आर्थिक वर्षमा मृत्यु भएका १६ जना नै पुरुष हुन् । क्षमता भन्दा अधिक संख्यामा कैदी\बन्दी हुँदा धेरैलाई त्यसैपनि स्वास्थ्यको जोखिम रहने गरेको छ ।
मोरङ कारागारमा मंसिर दोस्रो हप्तासम्म २५० जना पुरुष राख्ने क्षमतामा एक हजार १०५ जनालाई राखिएको छ । यसैगरी महिला ५० क्षमता भएको कारागारमा ११२ जना रहेका छन् । त्यसमध्ये पनि पाँच जना काखे बालक समेत त्यहि रहेका छन् । आमा कारागारमा रहँदा काखे बच्चा परिवारले जिम्मा लिन नमान्दा कारगारामै रहनु पर्ने अवस्था रहेको हो । कारागारमा ६२८ पुरुष कैदी छन् भने ३८४ थुनुवा हुन् । यसैगरी महिला कैदी ६५ र थुनुवा ३६ जना रहेका छन् ।
विदेशी मात्रै ७४ जना
कारागारमा नेपालीसँगै विदेशीको संख्या समेत अधिक छ । कारागार प्रशासनका अनुसार ७४ जना रहेका छन् । विदेशी नागरिक कर्तव्य ज्यान, जर्बरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, अवधै मुद्रा ओसारपसार, सवारी ज्यान तथा अंगभंग र हातहतियारका छन् । विदेशीमध्ये पनि बंगलादेशका २, भुटानी ५ र भारतीय ६७ जना रहेका छन् ।