विराटनगर । कक्षा ९ पढ्दादेखि नै विराटनगर ९ का सुनिल साह विराटनगरका स्वास्थ्य ल्यावहरुमा काम गर्थे । उनी घरको भन्दा आफ्नो पकेट खर्च जुटाउने उद्देश्यले क्लिनिक तथा ल्यावमा पुगेर सहयोगीको रुपमा खटिन्थे । त्यसबेला उनलाई केहि ज्ञान थिएन तर सञ्चालकलाई खुशी बनाउन लगनशील हुन्थे ।
विस्तारै उनको काम गर्ने दिन ल्याब र क्लिनिकमा बढ्दै गयो । उनले एसएलसी उत्तिर्ण गर्दासम्म ल्याबमा बसेर काम गर्न पाए हुन्थ्यो भन्ने सोच आईसकेको थियो । एसएलसी उत्तिर्णपछि उनले काम पनि गर्ने अनि ल्याव टेक्निसियन पनि पढ्ने योजना लिए ।
योजनामा कसिएका उनी ल्याव असिस्टेन्ट उत्तिर्ण भए । त्यति बेलासम्म उनले ल्यावका लागि आवश्यक नमूना संकलन गर्ने, परीक्षण गर्ने, त्यसको विश्लेषण गर्नेसम्मको ज्ञान लिईसकेका थिए । यतिसम्मकी उनी ल्याव असिस्टेन्ट भएपनि रेडियोलोजी अन्तर्गतको एक्स–रे मेशिन समेत चलाउन जान्दथे । सर्टिफिकेट आउनु अगाडी नै कोशी अस्पताल र एनआरएलमा अभ्यास गर्ने अवसर पाएर अझै पोख्त भएका उनलाई काम दिने धेरै भए ।
विराटनगर–७ हस्पिटल चौकमा खुलेका क्लिनिक र ल्यावहरु उनको आवश्यकता पर्खिरहेका हुन्थे । नरम स्वभाव र काममा दृढ भएकाले उनलाई ममता हेल्थ केयरले राख्यो । त्यहाँ काम गर्ने उनी अन्य ल्यावमा समेत समय दिन्थे । एनआरएल प्याथोलोजीमार्फत उनले होम डेलिभरी सेवा दिएका थिए । जसले उनको सम्बन्ध सेवाग्राहीको घरसम्म बनाएको थियो ।
त्यहि बेला कोरोनाको आक्रान्त समय आयो । घरघरमा पुगेर नमूना संकलन गर्ने काममा सुनिल अब्बल देखिए । त्यति मात्रै हैन उनले त्यो समय मासिक एकलाख रुपैँयासम्म जोगाए । त्यसले उनलाई स्वास्थ्य क्षेत्रमा स्थापित गरिदियो । नौ वर्ष अगाडी ल्याव टेक्निसियन उत्तिर्ण गरेका उनको दैनिकी राम्रो चलिरहेको थियो ।
दैनिक रोजगारीको शिलशिला चलिरहेको बेला उनी दुर्घटनामा परे १ त्यसपछि सुरु भए दुःखका दिन । ‘सम्पतिमा सबैको हाईहाई विपक्तिमा कोहि छैन दाजुभाई’ झैं भएँ, सुनिलले भने–तर, दुर्घटनामा परेपनि मेरोले बचायो । मैले काम राम्रो गरेकै कारण दुर्घटनामा पर्दा धेरैको सहयोग पाएँ ।
टाउको र हातमा गहिरो चोट लागेका कारण सुनिलको शरीरको देव्रे पाटो राम्ररी चल्न सकेको थिएन । अझै पनि समस्या बाँकी नै छ । तर, काम गर्नुपर्छ भनेर कोल्टिएको शरीर भएपनि पहिलेको ममता हेल्थ केयरमा पुगे । ‘ल्यावको काम गर्ने हो, सकिहाल्छु भन्ने लागेर पुग्दा, कुर्सीमा बस्न दिएनन्, ‘तँ केहि गर्न सक्दैनस्, यहाँ किन बसेको’ भनेपछि म रोएँ ।
त्यसपछि.........
सुनिलले आफ्नो घाईते शरीरबाट जीवनको टर्निङ्ग प्वाइन्ट लिए । अब उनी रोजगारका लागि अर्कोसँग हारगुहार गर्ने भन्दा आफ्नो सीपमा व्यवसायी बन्ने योजनामा हिँडे । तर, पैसा थिएन ।
‘दुर्घटनापछि सबै पैसा सकिएको थियो, अब आफ्नो घाईते शरीर बाहेक मसँग केहि थिएन’ सुनिलले २०७८ साल असोजको दुर्घटना सम्झदै भने–हिम्मत चाँहि बाँकी रहेछ ।
उनी अर्काको ल्यावमा काम गर्दा समेत सेवाग्राहीमुखी थिए । त्यति मात्रै नभई चिकित्कस र सेवाग्राहीका प्रीय पनि । अझै स्वास्थ्य क्षेत्रका व्यवसायीसँग उनको सम्बन्ध सुमधुर थियो, जुन उनका लागि सम्पति बन्यो ।
‘एक रुपैँया नभएको बेला साथीहरुसँग आफ्नै ल्याब खोल्न गरेको प्रस्तावमा सहयोग पाएँ’ उनले भने–पत्याउनेहरुले आठ लाख रुपैँया ऋण दिए । जसबाट संभव भयो २०७९ असोज २५ गते उद्घाटन हुने गरि ‘सुनिल हेल्थ केयर’ । उनको सुनिल हेल्थ केयर ल्याव तथा क्लिनिक हो । जहाँ बिरामीको स्वास्थ्य परीक्षण समेत विशेषज्ञ चिकित्सकमार्फत हुन्छ । फिजिसियन, गाईने, इएनटी र छाला रोग विशेषज्ञ उनको क्लिनिकमा उपलब्ध छन् । बिरामीहरु आउँदा अन्य चिकित्सकलाई समेत उनले फोन गरेर बोलाउँदै आएका छन् । ल्यावका नमूनाहरु अन्य क्लिनिकबाट समेत आउँछन् । आफैंसँग भएको ज्ञान र आफ्नै ल्याव भएपछि सुनिल व्यस्त हुन्छन् । सब ठिकठाक चलिरहेको छ, सेवाग्राहीलाई रुवाउने गरि पैसा असुल्न नपरोस् सम्झने गरेको छु, उनले भने ।
हस्पिटल चौकमा २० हजार मासिक भाडा बुझाएर, स्टाफसहित आफ्नो रोजगारीको माध्यम बनाएको ल्यावबाट उनी सन्तुष्ट छन् । स्थापनाका लागि लिएको आठ लाख ऋण उनले फिर्ता गरिसक्न अब ५० हजार मात्रै बाँकी छ । ‘ऋण तिरिसक्न लागें, अहिले किस्तामा तिर्ने गरि पाँचलाखको बाइक खरिद गरेको छु’ सुनिलले भने–हिम्मत नहारेका कारण आज म व्यवसायी बनेको छु । यदि मलाई कसैले नहेपेको भएपनि मसँग हिम्मत आउने थिएन होला की । उनको काँधमा अहिले पनि बुबाआमा र भाईको जिम्मेवारी छ । दुर्घटनामा परेर घाईते भएको बेला नै दाजुले आफ्नो छुट्टै व्यवहार खडा गरिसकेको उनको भनाई छ । परिवारको आवश्यकता र गुजारा चलाउन पनि उनले सहयोग गर्दै आएको सुनाए ।