विराटनगर । पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका कृष्णबहादुर विश्वकर्मा रोजगारीका लागि भारत हुँदै मलेसियासम्म पुगे । रोजगारीको खोजीमा भौतारिएका उनी चार वर्षयता धनकुटाको हिले बजारमा भेटिन्छन् । पर्यटकिय क्षेत्र हिलेमा पुग्ने पाहुनालाई काठको सामग्री कोशेलीको रुपमा पठाउँछन् ।
काठको सामान बनाउने उनको पुर्खौली पेशा हो । हजुरबुबा, बुबा र दाजुहरुले काठको ठेकीलगायत सामग्री बनाउने काम गरे । बनाएका सामग्री गाउँगाउँ डुलेर बिक्री गर्थे । कृष्णबहादुर सिङ्गो रुख खरिद गरेर सामग्री बनाएर बेच्छन् । उनले काठको सामान बिक्रीका लागि हिले बजारमा कोशेली घर खोलेका छन् ।
व्यावसायीक रुपमा काम गर्नका लागि कृष्णबहादुरले चार वर्षअघि उद्योग दर्ता गरेका थिए । दुई वर्ष देखि धनकुटा नगरपालिका– १ हिले बजारमा ‘धनकुटा कोशेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी तोङ्बा उद्योग’ सञ्चालन गरिरहेका हुन् । कोशेली घरमा काठका हस्तकलाका सामाग्री राखेका छन् ।
यो कामका लागि उनले ७–८ जनालाई रोजगारी दिएका छन् । उनले आफुले उत्पादन गरेको सामग्री देश–विदेश पठाउँछन् ।
पुर्खौली पेसाको व्यापारका लागि कृष्णबहादुरले नयाँ प्रविधि अपनाएका छन् । फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालबाट प्रचार गर्छन्, अर्डर अनुसारको सामान पठाउँछन् । व्यवसायबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । विदेश जाने सोच पनि त्यागेका छन् ।
कृष्णबहादुरलाई व्यवसाय सञ्चालनका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । एक लाखबाट सुरु गरेको व्यवसायलाई उनले २५ लाख हाराहारीको बनाएका छन् । व्यवसाय सुरु गर्दा ऋण सहयोग गरेको जीवन विकासले विस्तारमा पनि सहयोग गरेको छ । लोप हुँदै गएको पेसा संरक्षणका गर्दै नयाँपुस्तालाई समेत हस्तकला सिकाइरहेका छन् ।
भिडियो हेर्नुहोस् :