विराटनगर । संगठित रुपमा ठगी गर्ने गिरोहका छ जना पक्राउ गरेर मोरङमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरु विरुद्ध सुनसरी, झापासहितका जिल्लामा पीडितका उजुरी पर्न थालेका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुले भारत तथा नेपालका धेरै स्थानमा नक्कली सुन झुक्याएर बिक्री गर्ने धन्दा २१ वर्षदेखि चलाएको खुलाएपछि यो गिरोहबाट पीडितको संख्या अझै थपिने अनुमान गरिएको छ ।
पक्राउ परेकाहरुले ठगीलाई पेसा बनाएको समय पेन्सन पाक्ने समय बराबर नै रहेको उनीहरुको बयानबाट खुलेको हो । मोरङ प्रहरीले गत सोमबार झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सालबाडीका ३४ वर्षीय सन्जय शर्मा पक्राउपछि सार्वजानिक गरेर अनुसन्धान गरिरहेको छ । त्यस बाहेक झापा तोपगाछीका सिर मान श्रेष्ठलाई मोरङको उर्लाबारीबाट पक्राउ गरिएको जानकारी दिइएको छ ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरीयाले यो गिरोहले धेरै जिल्लाका सर्वसाधारणले विभिन्न जुक्ति लगाएर नक्कली सुन बिक्री गर्ने गरेको खुल्दै गएको जानकारी दिएका छन् । गत कार्तिक २७ गते संखुवासभा पाचखपन गाउँपालिका ५ बाट उपचारका लागि मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल आएका कृष्णबहादुर तामाङबाट एकलाख दश हजार उनीहरुले यसरी नै ठगेका थिए । त्यसपछि प्रहरीमा परेको उजुरीका आधारमा उनीहरुको खोजतलास गर्दै जाँदा गत आइतबार सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् । श्रीमतीको उपचारका लागि आएका तामाङसँग आफन्त नै भएको बहाना बनाएर ठगी गरेको मोरङ प्रहरीका उपरीक्षक चिमरीयाले जानकारी दिएका छन् ।
मोरङका प्रहरी निरीक्षक एवं घटनाको अनुसन्धान गरिरहेका अधिकृत सरोज खनालका अनुसार भारतबाट नक्कली सुनका टिल (बिस्कुट) ल्याएर नेपालका विभिन्न स्थानमा यो गिरोहले पु¥याउँछ । जसमध्ये सिन्धुलीमा यो समूहका केहि सदस्य समेत रहेका छन् । मोरङ प्रहरीको नियन्त्रणमा रहेकाहरु विरुद्ध चारवटा उजुरी परिसकेका छन् । त्यस बाहेक इटहरीमा ८, धरानमा २ र झापा दमकमा चारवटा उजुरी परेका छन् ।
प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरुले झुक्याएर बिक्री गरेको सुनका टिल (बिस्कुट) समेत पीडितले लिएर आउन थालेका छन् । अनुसन्धान अधिकृतका अनुसार दुईदुई जनाको समूह बनाएर उनीहरु भिन्नभिन्न स्थानमा पुग्छन् । त्यहाँको अवस्था विश्लेषण गरेपछि झुक्याउन विधी रच्ने गरेका छन् । कसैले लगाईरहेको पुरानो सुन देखे भनेपनि उनीहरुले नयाँ सुन खरिद गराउन जुक्ति समेत आफैं निकाल्ने गरेको बयानमा खुलाएका छन् ।
‘केहि नलागे होटल तथा अन्य कुनै स्थानमा एकजना सुन खरिद गर्ने र अर्कोजना बिक्री गर्ने पनि हुने गरेको खुलाएका छन्’ प्रहरी निरीक्षक खनालले भने–धेरै जना भएको स्थानमा आफू आफैं कारोबार गर्न थालेपछि अरुको ध्यान आकर्षण हुन्छ, अनि गहनासँग साट्न सकिन्छ की पैसामा बेच्न सकिन्छ ठगी हाल्छन् । प्रहरी नियन्त्रणमा रहेर अनुसन्धानका लागि बयान दिनेहरुले नै भारतमा चारवर्ष यो पेसा अपनाएपछि ‘टार्गेट’ मा परेपछि नेपालमा सुरु गरेको खुलाएका छन् ।
कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर पुग्ने उनीहरुले कसैसँग गहनामा नयाँ सुन साट्ने र कसैसँग भने पैसामा कारोबार गर्ने गरेको खुलेको छ । भारतबाट नक्कली सुन ल्याई दिने भारतीय नागरिक केहिवर्ष अगाडी झापा मेचीनगरको काकडभिट्टा नाकामा पक्राउ परेपछि सुन समेत यो गिरोहका सदस्य आफैंले सीमापारीबाट ल्याउन थालेको बयानमा खुलाएका छन् । तर, नेपालमा सक्कली सुनसँग नक्कली सुन साटेर उनीहरुले त्यो भारतमै पु¥याउने गरेको खुलाएबाट त्यहाँ समेत गिरोह रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
पक्राउ परेकामध्ये हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा ज्यान मार्ने कसुरमा झापामा सात वर्ष जेल बसेर निस्केपछि ठगी धन्दा सुरुवात गरेका थिए । उनले सुरु गरेको यो कार्यमा विस्तारै संलग्नहरुको संख्या बढाउँदै लगेका हुन् । पक्राउ पर्नेहरु अधिकांश ५० वर्षमाथिका छन् । उमेर पाको भएका कारण नक्कली सुनमा झुक्किनेहरु समेत सहजै फस्ने गरेको बताउँछन् ।
सुनको बिस्कुट खरिद गरेर गहना बनाउन जाँदा नक्कली भएको प्रमाणीत भएपछि धेरैले आफू ठगीएको समेत खुलेर बताउन नसक्ने प्रहरीको बुझाई छ । उजुरी लिएर आएका पीडितहरुले ठगी गर्ने गिरोह यहि भएपनि सुन खरिद गरेर फसेको कुरा परिवारलाई समेत बताउन नसकेको प्रहरीसँग सुनाएका छन् । ‘सुटुक्क किनेर राख्न चाहनेहरु पनि देखिनुभयो’ प्रहरी निरीक्षक खनालले भने–खरिद गरेको सुनको रङ्ग उडेपछि ठगीमा परेको सुनाउन पनि गाह्रो भएको गुनासो गर्दछन् ।
उनीहरुलाई कोशी प्रदेश विशेष अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलिले इटहरीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पहिलो उजुरी मोरङमा रहेका कारण यहाँ अनुसन्धान भईरहेको भएपनि पछिल्लो समय सुनको मूल्य बढ्दा यो गिरोहले धेरै जिल्लामा नक्कली सुन केहि सस्तोमा बिक्री गरेको प्रहरी बताउँछ । ‘मानौं आधिकारिक सुनको कारोबार गर्ने स्थान बाहेक कुनै व्यक्तिसँग सुनका बिस्कुट खरिद गरेको भए नक्कली हुनसक्छ’ प्रहरी निरीक्षक खनालले भने–काठमाण्डौंमा पनि उनीहरुले बिक्री गरेको खुलाएका छन् । पक्राउ परेकाहरुले आफ्नो बयानमा समेत ‘दिएर लिएको त हो नी’ भन्ने कुरा गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरीहरु बताउँछन् । यो गिरोहले सुन बिक्री गर्न नसक्दा कतिपय व्यक्तिहरुलाई कोकफेन्टा खान आग्रह गरेर त्यहाँ निन्द्राको औषधी हालेर अनि चोरी समेत गरेको खुलेको छ ।
पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप भएर अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ को २ (ग) बमोजिम सात वर्ष कैद र ७० हजारसम्म जरिवाना हुने ऐन छ । तर, अनुसन्धानका क्रममा संगठित गिरोह बनाएको खुलेपछि प्रहरीले त्यसमा समेत मुद्दा चलाउने तयारी गरेको छ ।