-राजन प्रसाद न्यौपाने
खै के भयो आजभोलि
के हुँदैछ
किन हुँदैछ
कस्तो हिमाल चढदा सपनामा
कहाँ पुगिन्छ?
कस्तो पहाड छिचोल्दा
कुन गल्छी र गौडा झर्दा
टारी र बारीको सम्मजमीन देखिन्छ
थाहा छैन
मात्र छक्क लाग्छ
म देशमा कहाँ छु
कहाँ छ मेरो देश
कस्तो छ मेरो पहिचान
सरकार भन्ने के होला?
कहाँ गएर भेटिएला
उफ्फ!म अल्मलिन्छु
जीवन ,जीवन संगै खोजेर
उता गाउँमा पहिरो गयो भन्दा
मेरै घर जग्गा पुर्यो होला
भत्कायो होला
मेरो बेवारिसे त्यो झुपडी
भत्क्यो होला जस्तो लाग्छ।
खोलामा बाढी आयो रे भन्दा
मेरै बगरको खेत
जहाँ कहिलै सिंचाइ भएन
कुलो नभएर
मात्र खोलाको किनारमा
ओसिलो हुन पाउने रहर बोकेर
भिख मागिरह्यो
यो देशमा अर्काको सरकारसंग
आफ्नै खोलाको पानी
आफ्नै खेतमा पट्याउन
लाग्छ त्यो बाढीले पहिला
त्यही खेत बगायो होला
मलाई भूमिहिन बनाउन।
यता शहरमा डोजर चलेको खबर
छ्यापछ्याप्ती सामाजिक संजालमा फैलदा
लाग्छ
अब मेरै घर भत्काउने होला
नगरपालिकाले
पाली बार्दली र पेटी अहिले सडकको मापदण्डमा अनधिकृत भएको छ रे मेरै घरको
त्यो बेला मेरो घर बन्दा
त्यहाँ खेतको आलि थियो
मेरै नामको लालपुर्जाबाट
जग्गा छाडेर गोरेटो बन्या थियो
गोरेटो बिस्तारै सडक भयो
अब त मैले नै सडक मिचेको भनेर
डोजर मुटु हल्लाउन आइपुगे
जस्तो लाग्छ।
हो नि!
लाग्दैन कानून यहाँ
त्यो घर बनाउन स्वीकृत दिने
तालुक अड्डालाई
त्यो बेला हस्ताक्षर गर्ने
कर्मचारी र अधिकृतलाई
उनिहरु त पेन्सन नामको
मार्सी चामल खाएर
त्यही बाटो
मेरै घर अगाडि
मेरै जग्गा
मैले नै छाडेको
लालपुर्जाबाट
कित्ताकाट गरेर
हालसाविक भएको
अहिलेको सरकारी सडकबाट
सान ,मान र इज्जतले हिड्दै
मलाई नै सहानुभूति दिइरहेछ
कठै तपाईको घर त सडकमा पो परेछ नि!
हो! पक्का छ अब
म त्यही सडकको पेटीमा
फाटेको बर्को ओढेर
मेरै नामको लालपुर्जाबाट
कित्ताकाट भएको
मेरै पूर्खाको नासो
बिना पैसा नामसारी भएको
माटो माथि बिदेशी सिमेन्ट लिपेको
सडक नामको जमीनमा
बस्नुपर्ने छ
मर्नु पर्नेछ
अनि लास उठाउन प्रहरी आउनेछ
बेबारिसे भन्दै
आर्यघाटमा होइन लाने
खरानी बनाउने बिजुलि
मेसिनमा लग्नेछ
पशुपतिको बागमती किनारामा
किनकि ,
सोर्स फोर्स र कुनै पहुँच नभएको
म हुँ मानिस
आफ्नै देशमा
अनागरिक बनेको
पुस्तानी दलको सदस्यता नलिएको
चुनावताका बाहेक कुनै नेताले
कहिल्यै नचिनेको।
कति सताएको यो सपनाले पनि?
सपनामा पनि सरकारको भूत !
डरको भूत
आफ्नै भूत!