विराटनगर । त्रिदेशीय लाइफलाइन विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीहरुले बताएका छन् । विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीहरुले रानी–किमाथाङका सडक निर्माण सम्पन्न भए त्यसको लाभ विराटनगरले धेरै लिनसक्ने बताएका हुन् ।
चीन–नेपाल–भारत जोड्ने उत्तर–दक्षिण आयोजना रानी–किमाथाङ्का सडक राष्ट्रिय गौरवको आयोजना भएपनि यसको निर्माणमा ढिलाई हुनु चिन्ताको विषय भएको उद्योगीहरु बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एशियन हाईवेमा जोडिएको नेपाल अब त्रिदेशीय सडक सञ्जालमा समेत जोडिए त्यसको लाभ विराटनगर महानगरपालिकालाई हुने बताउनुहुन्छ ।
जर्मन फेडरल इन्टरप्राइजेज फर इन्टरनेशनल कोअपरेसन (जिआइजेड) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विराटनगरको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी– किमाथाङका नै हुने जोड दिइएको छ । जसले सीमापार व्यापारको प्रवेशद्वारको रुपमा विराटनगर थप मजबुत हुने दावी गरिएको थियो ।
उद्योगी राउतले एसियन हाइवेसँगै रानी–किमाथाङका सडक कनेक्टिभिटीले भारत, चीनसँग सहज पहुँच बनाउने बताउनुभयो । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक प्रतिष्ठानहरूले देशका विभिन्न भागबाट आएका अवसरको खोजीमा रहेका कैयौँ युवायुवतीलाई रोजगारी दिईरहेको बताउनुभयो । यदि सडक सञ्जालमा जोडिने हो भने यसको संभावना अझै धेरै हुने र अझ प्रतिस्पर्धात्मक लाभ हुने बताइएको छ । नेपालको आर्थिक विकासमा टेवा पुग्ने कतिपय योजनाहरुलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले उद्योग व्यवसाय प्रवर्धनमा स्थानीय तहले सकेसम्मको योगदान गरिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै त्यसका लागि आवश्यक पर्ने पूर्वाधार विकास कम प्राथमिकतामा परिरहेको बताउनुभयो । विराटनगरको रणनीतिक अवस्थितिले गर्दा पनि आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानले महानगरपालिकाको आर्थिक विकासमा अझ सहयोग पुग्ने उहाँको विश्वास थियो ।