विराटनगर । कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखुको क्रसिङ्ग समयमैदेखि नै सुरु भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित बर्जु गाउँपालिकास्थित इस्टर्न सुगर मिल प्रा.लि.ले गत पुस ५ गतेदेखि क्रसिङ्ग सुरु गरेको हो ।
यो सिजनका लागि तीन जिल्लाका दुई हजार ७०० किसानले सात हजार बिघा क्षेत्रफलमा उखुीको खेती गरेका छन् । इस्टर्नका महाप्रवन्धक पवनकुमार झाका अनुसार अहिले दैनिक २२ हजार क्विन्टल उखु क्रसिङ्गको पूर्जी जारी गरिदैं आएको छ । चालु सिजनमा २२ लाख क्विन्टल उखु उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
सरकारले प्रतिक्विन्टल ५८५ रुपिँया उखुको समर्थन मूल्य तोकेको छ । यसमा अनुदान ७० रुपिँया प्रतिक्विन्टल जोडिन्छ । उद्योगले एक क्विन्टल उखुको मूल्य ५८५ रुपिँया किसानलाई भुक्तानी गर्नेछ ।
गत सिजनमा इस्टर्नले २० लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । दुई हजार ४०५ किसानले पाँच हजार २०० बिघा क्षेत्रफलमा खेती गरेका थिए । चालु सिजनमा सात हजार बिघा क्षेत्रफलमा दुई हजार ७०० किसानले उखु लगाएका छन् ।
महाप्रवन्धक झाका अनुसार पछिल्लो समय उखुको भुक्तानी सहज भएपछि खेती लगाउने किसानको संख्या बढ्दै गएको छ । ‘यो त खुशीको कुरा छ, इस्टर्नका लागि कच्चा बढ्दै जाँदा यसको लाभ राज्यलाई नै हुनेछ’ झाले भन्नुभयो–उखुले किसान, उद्योग र मजदुर जोड्छ ।
गत वर्ष उद्योगले ६४४ प्रतिक्विन्टलमा उखु खरिद गर्दथे । यसमा सरकारको ७० रुपिँया अनुदान थियो । एक क्विन्टल उखुबाट ९ किलो चिनी उत्पादन हुने बताइन्छ ।
एकसातामै ८ रुपिँया बढ्यो मूल्य
उखु क्रसिङ्ग गरेर नयाँ चिनी बजारमा आउँदा प्रतिकेजी मूल्य ८४ चलेको थियो । साना मिलहरु सञ्चालनमा आएपछि बजारमा ८४ रुपिँयाले चिनीको मूल्य झरेपछि ठूला मिलले क्रसिङ्ग सुरु गरेका थिए । तर, ठूला मिलले क्रसिङ्ग सुरु गरेपछि चिनीको मूल्य एकसाता भित्रै ८ रुपिँया प्रतिकेजी बृद्धि भएको विराटनगरका व्यापारी जीवन रिजालले जानकारी दिनुभयो ।
‘सुरुमा ८६ रुपिँया प्रतिकेजी खरिद गरेको चिनी अहिले ९१ रुपिँया पुगेको छ’ रिजालले भन्नुभयो–मिलवालाले उत्पादन सुरु गर्दै कार्टेलिङ्ग चलाई हाले । ८२ रुपिँयाबाट सुरु भएको नयाँ चिनीको मूल्य ९२ रुपिँयासम्म पुग्ने अवस्थालाई सरकारले रोक्नुपर्छ, रिजालले भन्नुभयो–नेपालको उत्पादनले छ महिनालाई मात्रै पुग्छ, सुरुमै मूल्य बढाएर उद्योगीले उपभोक्तालाई सीमापार बजार पठाउँन खोजिरहेका छन् ।
नेपालमा उत्पादन हुने चिनीको मूल्य बढ्यो भने भारतबाट अवैध आयात बढ्ने संभावना बढ्छ । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका रिजालले एक क्विन्टलमा २२५ रुपिँया मुनाफा राख्न नमिल्ने बताए ।
भारतमा अहिले प्रतिकेजी ३८ रुपिँया प्रतिकेजी चिनी पाउने गरेको बताए । उत्पादन लागत उस्तै हुँदा नेपालमा यति धेरै बढाउन नमिल्ने उनको भनाई छ । खुल्ला सीमानाका भएका कारण भारतमा सस्तो पर्ने भएपछि उपभोक्तादेखि ठूलो परिमाणमा खपत गर्ने उद्योगहरुले चिनीको अवैध पैठारी गर्नसक्ने संभावना बढ्ने व्यापारीहरु बताउँछन् ।
फोटो:फाइल