-वसुन्धरा चौहान(सुनिता)
कायर छैन म
लाग्दैन डर कसैको
मान्छेको मुखुण्डो
भित्रका स्वार्थी
पापी
झुठा हुन्छ्न् मान्छे
जिन्दगीको यात्रामा
आएका पलहरूले
बताएको छ
त्यसैले
लाग्दैन भर कसैको
नाता
सम्बन्धको कदर
इज्जत छ
र
मात्र
नत्र
लेख्न नसक्ने
बोल्न नसक्ने
प्रतिकार गर्न नसक्ने
बिचरा
लाचार
अबला
म हैन ।
सोच्छु मेरो शब्दले
मलाई नै रुवाउनेको
बदनाम भै
शिर नझुकोस्
आँसु नखसोस्....
सायद
मैले जति
कसैले मलाई
बुझिदिएको भए,
मेरा शब्दहरूको
कदर गरिदिएको भए....
हुन त
मेरै इज्जत कदर नगर्नेले
के गर्थे र?
मैले जन्माएका शब्दभावको कदर
यहीँ सोचेर हाेला
बिडम्बना,
अचेल
मन ढुङ्गा जस्तो भएको छ ।
खरानी भित्र झैँ
मन भित्र
बिद्रोह गर्न सक्ने झिल्को
अझै बाकीँ छ
निभेको छैन
खबरदार!
एकदिन आगोको ज्वाला
बनेर आउने छ तिम्रो सामु
अनि जलाउनेछ
तिमीलाई ।
तिम्रा पुरातनवादी,
पितृ सत्तात्मक,
पुरुषवादी सोचलाई
कलमका ज्वला बनेर
शब्दको चितामा....।
गौरादह,झापा