-सुरेशकुमार पाण्डे
" छोरा मलाई पनि एउटा मोबाइल किन्देउन ! "- दामोदर याचनाको दृष्टिले छोरातिर हेर्दै भने।
" त्यो छ त हजुरको पुरानो नोकिया मोबाइल"-छोरा भन्दा पहिल्यै बुहारी प्रमिलाले प्याच बोली । " त्यो कुरा गर्न त मिल्छ आवाज कम भएपनि तर फोटा खिच्न मिल्दैन।"
" किन बा ! कस्को फोटा खिच्नुहुन्छ हजुरले यो बुढेसकालमा ?"- छोरा रवीले खिसि गर्दै भन्यो र प्रमिला तिर हेरेर मुस्कुरायो।
"रवी छोरा हामीले अचेल भजन किर्तन् गर्ने ठाउँमा पालैपोलो भिडियो बनाएर राख्ने चलन छ।सबैले त्यसो गर्छन् मसँग भने त्यसतो खालको मोबाइल छैन।त्यसैले भनेको छोरा किन्देन।"-दामोदरले सफाइ दिंदै फेरी याचना गरे। " यो वर्ष त हजुरको बुहारीलाई आई फोन चाहिएको छ अरे।आर्को वर्ष कतै केही भएन भने हजुरलाई पनि सोंचौँला हुन्न।"-रवीले भन्यो।
दामोदरले जीवनका पुराना दिन सम्झिए आफुले खाइ नखाई छोरालाई पढाएको।आमाले बिहेको गहना बेचेर डिग्री दिलाएको । आँखामा झलझली आयो।
" हस् छोरा ! आर्को वर्ष बाँचेछु भने मैपनि टच फोनको मालिक हुनभरछैन।"- सुस्तरी भनेर आँखा छोपेर आफ्नो रूमतर्फ लागे ।
घोराही-१८,दाङ