विराटनगर । मोरङका ६१ हजार एक सय ७ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ।
आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाईने भएको हो । माघ २३ देखि फागुन १ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ ।
पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका,बेलबारी,लेटाङ,सुन्दरहरैँचा नगरपालिका,मिक्लाजुङ, ग्रामथान, बुढीगंगा र केरावारी गाउँपालिकामा खोप लगाईने भएको छ ।
दोस्रो चरणमा माघ २७ गतेदेखि फागुन १ गतेसम्म पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई ,सुनवर्षी,रंगेली नगरपालिका,कानेपोखरी, धनपालथान , जहदा र कटहरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने आज (आइतबार) विराटनगरमा आयोजित जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीबीचको अभिमुखीकरण कार्यक्रममा जानकारी दिईएको हो । अभियान अन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५१० गरि ६१ हजार १०७ किशोरीलाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा ६१३, स्वास्थ्य संस्थामा १६४ र समुदाय स्तरमा ७७ गरि ८५४ खोप केन्द्र मार्फत खोप लगाईने छ ।
नियमित खोपका रुपमा अघि बढाउने योजना सहित एचपीभी खोप कार्यक्रम शुरु हुन लागेको उनले जानकारी दिए । फागुन १ गते सम्ममा लक्षित वर्गलाई खोप लगाईसकिने पोखरेलले बताए । लक्षित समूहका लागि खोप आईसकेको र माघ २१ गतेदेखि स्थानीय तहहरुमा पठाईने उनले बताए।
एचपीभी पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक भएको स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशीले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग भएको र शुरुको अवस्थामा यसको पहिचान भएमा उपचार गरेर निको हुने उनले बताए ।
जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीबीचको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, उपप्रमुख उषा झा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, निजी अस्पताल सञ्चालक संघ कोशी प्रदेशका अध्यक्ष शंकर अधिकारी लगायतले खोप अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।
एचपीभी विरुद्धको खोप अभियान कोशी प्रदेशमा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन हुँदै छ । दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।
फोटो:फाइल