विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले ‘एजुकेशन एक्जिबिसनले’ बालबालिकामा अन्वेषणमा लाग्न प्रेरित गर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले बालबालिकाका लागि अवसर सिर्जना हुनुले अन्वेषणको बाटो खोलिदिनु सरह मानिने बताएका हुन् ।
उनले यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने सिकाउने कुरामा धेरै अभिप्रेरणा हुने भन्दै त्यसले सफल ब्यक्ति बन्न सघाउने धारणा राखेका हुन् । आफू सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अमेरिका पुगेको स्मरण गर्दै आफ्नो रुचि अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको उनले बताएका थिए ।
‘ मेरो रुचि अनुसार अमेरिकामा पुगेर पनि विभिन्न वरिष्ठ वैज्ञानिकहरूसँग सहकार्य गर्ने अवसर जुर्यो र त्यसको परिणाम स्वरुप हामीले अल्जाइमर रोगको अन्वेषण गरियो । कोभिड १९ को भ्याक्सिन तथा ट्याब्लेट बनाइयो । अहिले किशोरीहरुलाई लगाइरहेको भ्याक्सिन एचपीभी अन्वेषणमा पनि हाम्रो भूमिका रह्यो’ रायमाझीले भने–तपाँईहरुको लागि एभरेष्टले दिईरहेको अवसरले सफलतामा पु¥याउन सक्नेछ ।
यसको अर्थ बालबालिकाको रुचि अनुसारको उनीहरुको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहयोग पुग्ने भनाई थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताएका थिए । उनले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत दावी गरे ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको बताए । उनले त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गरे । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले हरेक क्षेत्रमा उत्तिकै लगानी गरिरहेको चर्चा गर्दै विद्यालयको मेहनतलाई अभिभावक र शिक्षक कर्मचारीहरुले समेत उसैगरी बुझि दिएकोमा धन्यवाद ब्यक्त गरे । प्राचार्य पुरीले एक्जिबिसनले बालबालिकाले आफूले कक्षा कोठामा सिकेको सिकाइलाई ब्यवहारिक रुपमा प्रदर्शन गर्न सहयोग गर्ने विश्वस्त देखिन्थे । अभिभावक र शिक्षक शिक्षिकाले आफ्ना बालबालिकाको क्षमतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने उनको जोड थियो ।
एभरेष्ट स्कुलले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति कुनै कसर नराख्ने समेत बताएका थिए । बालबालिकाका प्रतिभा देखाउने एक्जिबिसनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सफल बैज्ञानिक त्यो पनि कोशी प्रदेशकै ब्यक्तिलाई प्रमुख अतिथि बनाउन पाएकोमा गर्व लागेको समेत बताएका थिए ।
सोमबार र मंगलबार चल्ने एक्जिबिसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शनी गर्दैछन् । जस अन्तर्गत पहिलो दिन आज यू.केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी गरेका छन् । भोली अर्थात मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी हुने विद्यालयका सह प्राचार्य कुन्दन पुरीले जानकारी दिएका छन् ।
‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरिरहेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टी एन भण्डारीले बताएका छन् ।