इन्दु साह
विराटनगर। सवारीमा प्रेसर हर्न लगाएर सार्वजानिक सडकमा गुडाउन पाइदैन । त्यति मात्रै हैन अनावश्यक हर्न बजाएर शहरमा ध्वनी प्रदुषण गराउन पनि पाइदैन । यात्राका क्रममा सवारीको हर्न निषेध गर्ने नियम कहिलेकाँही लाग्छन् । तर, लामो समय टिक्दैनन् ।
विराटनगर महानगरपालिका क्षेत्रमा समेत जथाभावी जोडले हर्न बजाउन निषेध गरिएको थियो । यद्यपी यसको कार्यन्वयन लामो समयसम्म टिक्दैन । मुख्य सडकदेखि सहायक र उपशाखा सडकमा सवारी चाप भए नभएको दुवै अवस्थामा सवारी चालकहरुले तिब्र गति र प्रेसर हर्न प्रयोग गर्न नपाउने भएपनि विराटनगरमा यात्रु तर्साउने क्रम रोकिएको छैन । मोरङ जिल्ला ट«ाफिक प्रमुख राजन लम्सालका अनुसार अनावश्यक हर्न प्रयोग गर्दा ३८ चालकलाई चालु आर्थिक वर्षमा कारवाही समेत गरिएको छ । तर, प्रेसर हर्न बाहेक सामान्य हर्नलाई समेत जोडले दवाएर बजाउने क्रम रोकिने संभावना कम रहेको उनी बताउँछन् ।
त्यसको कारण हो, अधिक सवारीको चाप र सडकको अवस्था । ट्राफिक प्रमुख लम्सालका अनुसार सिटी सफारीको अधिक चाप भएको शहरमा सवारी पास हुनका लागि दवाउने हर्नको आवाजले मानसिक तनाव दिएपनि रोकिहाल्ने अवस्था नभएको हो । जुन गतिको सवारी हो, त्यहि गतिमा गुडाउने नियम लगाउन लेन अनुशासनको पालना गराउनु पर्ने हुन्छ । तर, लेन अनुशासनको पालना नहुँदा सानाले ठूला सवारीलाई छेक्ने र त्यसलाई संकेत गर्न हर्न बजाउने प्रचलनले पेरीफेरीका पैदलयात्रु तथा नागरिकलाई असर गरिरहेको स्वयम् ट्राफिकलाई जानकारी छ ।
हामीले ट«ाफिक सचेतना सम्वन्धि तालिम दिदा हर्न बारे पनि दिने गरेका छौ लम्सालले भने–तर पनि जोडले आवाव दिन छोडिदैन । उनले जथाभावी हर्न बजाउने सवारी चालकलाई तत्काल कारबाही गरेपनि त्यसले अर्को स्थानमा पुगेपछि गति बढाउँछ र प्रेसर हर्न बजाउँछ । बढ्दो सवारीले ध्वनि प्रदुषण भईरहेको अवस्थामा यसरी अनावश्यक हर्न बजाउँदा यसले नागरिकको स्वास्थ्यमा दैनिकजसो नकारात्मक असर गरिरहेको हुन्छ ।
नेपालको कानुनले समेत अनावश्यक हर्न बजाउन निषेध गरेको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (क) बमोजिम अनावश्यक रूपमा हर्न बजाउन रोक लगाएको छ। उक्त ऐनको दफा १६४ (क) अनुसार अनावश्यक रूपमा हर्न बजाउने सवारी चालकलाई पहिलो पटक पाँच सय, दोस्रो पटक भए एक हजार र त्यसपछि प्रत्येक पटक दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर, पनि मुख्य चोक तथा सडकहरूमा सवारी चालकहरूले जथाभावी हर्न बजाउने गरेको पाइएको छ।
विराटनगर महानगरपालिकाले अस्पताल, विद्यालय र कार्यालय क्षेत्रलाई ’नो हर्न जोन’ घोषणा गरेको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र नवीकरण गर्दा हर्न बजाउने सम्बन्धी नियमको पालना गर्ने प्रतिबद्धता लिने गरेको छ। तर, व्यवहारमा भने सवारी चालकहरूले यसको पालना नगरेको पाइएको छ । जथाभावी प्रयो गरीने अनावश्यक हर्नको ध्वनिले स्वास्थ्य रोगीहरुलाई समेत थप जोखिममा पार्छ । ज्यष्ठ नागरीक, बालबालिक र दिर्गरोगीहरु भने यसबाट बढि प्रभावित हुन्छन् ।
हर्नको आवाजले मुटु रोगी, उच्च रक्तचापका बिरामी, माइग्रेन र टाउको दुखाइका रोगीहरूलाई अझ गम्भीर असर पुर्याउँछ। विशेषगरी मुटुका बिरामीहरूलाई अचानक आउने तीव्र आवाजले हृदयघात समेत निम्त्याउन सक्छ,“ ।जथाभावी हर्नको आवाजले मानसिक रोगीहरूमा तनाव र चिन्ता बढाउने हुनसक्छ । यस्ता आवाजले डिप्रेसन, एंग्जाइटी र पोष्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का बिरामीहरूको अवस्था झनै बिग्रन सक्छ । ययसै गरी नवजात शिशु र गर्भवती महिलाहरूलाई पनि हर्नको आवाजले नकारात्मक असर पार्छ। “गर्भमा रहेको बच्चाको मस्तिष्क विकासमा समेत यस्ता आवाजले असर पुर्याउन सक्छ । चिकित्सकहरूले अस्पताल वरिपरि हर्न बजाउन पूर्ण रूपमा निषेध गर्नुपर्ने र अन्य क्षेत्रमा पनि यसको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका छन्।