विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ ।
लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्व भिडन्तमा जाने निश्चित छ । त्यसका लागि पाखा लगाइको बिनोद ढकाल समूह र संस्थापन भनिएको अर्को समूह देखिन्छ । इमान्दारपूर्वक राजनीतिमा सक्रिय रहेको समूहमाथि मानगढ खानेपानीको चिसो १० औं जिल्ला अधिवेशनबाट न्यानोमा बदल्ने संभावनाको डर भने संस्थापन पक्षमा देखिएको छ ।
यद्यपी इतर भनिएको समूहले अहिलेसम्म आफ्नो लाइन पार्टीका अध्यक्ष केपी शर्मा ओली भन्दा बाहिर नरहेको बताउँदै आएको छ । तर, कोशीबाट केन्द्रमा रहेका नेताहरुले ठेगान लगाउने समूहको रुपमा ढकाल पक्षलाई व्यवहार गर्दै आएपछि मोरङमा दुई कित्ता स्पष्ट देखिन्छ । इतर भनिएपनि मोरङमा सशक्त र नेता कार्यकर्ताबीच लोकप्रिय मानिएको यो समूह अधिवेशनमा अहिलेसम्मको दवावको बदला लिने पक्षमा छ ।
त्यसको परिणामस्वरुप कार्यकारी अधिकार रहेको वडा कमिटिले आजसम्मका अधिवेशनमा छान्दै आएको प्रतिनिधिको जिम्मेवारी खोसेर पालिकास्तरमा ल्याउने विशेष निर्णय संगठन कमिटिले गरेको छ । एमाले मोरङको फागुन १ गते बसेको बैठकको निर्णयको विशेष निर्देशन पालिकास्तरमा गरिएको छ । जसमा वडामा प्रतिनिधि छनौट गर्ने अधिकार पालिकास्तरको कमिटिलाई दिइएको छ ।
निर्देशनमा भनिएको छ–प्रतिनिधि छनौटका लागि पालिका कमिटिले पाकिलास्तरमा एकजना निर्वाचन अधिकृतसहित कम्तिमा ३ जना रहेको निर्वाचन समिति गठन गर्ने । त्यसको मातहतमा रहनेगरि वडा र दलित निर्वाचन क्षेत्रमा ३–३ जनाको निर्वाचन समिति बनाई जिम्मेवारी दिने र सो को जानकारी जिल्ला पार्टी कार्यालयमा पठाउने ।
तर, पालिकाले यो अभ्यास गरेर नपठाउँदै वडाले निर्वाचन गराउने कमिटि बनाएर पालिकामा जानकारी दिईसकेको एक नेताले बताएका छन् । फसाकफुसुक बनाउन सकिन्छ की भन्ने अभ्यासले खुल्ला पार्टी चल्दैन, जनवादमा पोख्त वडा कमिटिहरुले आफ्नो अधिकार प्रयोग गर्दै केन्द्रीयता लाद्ने मनोविज्ञान असफल बनाईरहेका छन्, ती नेताले भने–इमान्दार हुनु चाँहि पार्टी चल्नु हो ।
यो विशेष निर्देशनलाई कतिपय वडा पार्टी कमिटिका अध्यक्षहरुले कार्यकारी अधिकार सम्पन्न कमिटिमाथिको अंकुश भएको भन्दै विरोध गरेका थिए । तर, संगठन कमिटिका अध्यक्ष बाबुराम कार्की र इन्चार्ज जीवन घिमिरे नबोलेरै निर्देशन जारी गर्ने स्थितिमा पुगेका थिए । निर्वाचित कमिटिले निर्वाचन समिति बनाएर प्रतिनिधि छनौट गरेर पठाउने अधिकारलाई संकुचित गरेर पालिकाले बनाएको निर्वाचन समिति मातहत रहने गरी वडामा समिति बनाउने निर्देशन अधिवेशनमा चलखेल प्रयोजन भएको कतिपयको बुझाई छ ।
यस्तो छ प्रतिनिधि छनौटको अवस्था
मोरङका १७ पालिकाका १५९ वडा, दलित, जनवर्गीय संगठन, विशेष क्षेत्र, जिफन्ट, मोरङ काठमाण्डौं सम्पर्क मञ्च र मनोनित समेत गरेर अधिवेशनमा ९०४ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जसमा खुल्लातर्फ २२४ महिला र ४८३ पुरुष गरी ६९२ जना, दलितमा १७ महिला र ३४ पुरुष गरी ५१ जना, जनवर्गीय संगठनमा ३३ महिला र ५७ पुरुष गरी ८९ जना, विशेष क्षेत्रमा ५ महिला र १४ पुरुष गरी १९ जना, जिफन्टमा २ महिला र ४ पुरुष गरी ६ जना, मोरङ–काठमाण्डौं सम्पर्क मञ्चमा २ महिला र ३ पुरुष गरी ५ जना तथा मनोनित ४२ जना रहने छन् ।
यी हुन् अध्यक्षका आकांक्षी
अधिवेशन नजिकँदै गर्दा संस्थापन पक्ष र इतर भनिएको पक्षमा अध्यक्षसहित पदाधिकारी दावेदारका आकांक्षी धमाधम घोषणा हुँदैछन् । संस्थापन पक्ष दावी गर्नेहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफ्नो संभावना क्लियर गर्न काठमाण्डौं धाईरहेका छन् । संस्थापन पक्षबाट सबैभन्दा बढी कसरत गरिरहेका राजकुमार ओझा र बाबुराम कार्की दुवैले केन्द्रीय अध्यक्षसम्म आफ्ना कुरा राखेर फर्किसकेका छन् । त्यसमा पनि ओझाले अहिले धमाधम मत माग्न थालिसकेका छन् । उनले तयारीको काम थाल्ने संकेत अध्यक्षले दिनु भएको भन्दै फोन गरिरहेको एक नेताले बताएका छन् ।
इतर समूह भनिएको ढकाल पक्षधरले पहिल्यै पदाधिकारी नै तयार गरेर सार्वजानिक गर्ने भित्री तयारी गरिरहेको छ । यद्यपी अहिलेसम्म अजम्बर राई र सागर थापा प्रवल मानिएका छन् । सर्वसम्मत प्रतिस्पर्धीको रुपमा आउने कसरतमा थापाले जोड बढाईरहेका छन् । थापाले आफ्नो पक्षमा जिल्लामै एकमत हुनसक्ने संकेत समेत गरेका छन् । ‘पक्ष नदेखिने र कोही नहार्ने’ लाइन भनेकै सागर थापाको हो, उनले भने–जिल्लाको राजनीतिमा योगदान दिएर आएका नेतालाई पाखा लगाउने गरी १० औं अधिवेशनले नेतृत्व छान्दैन ।
संस्थापन पक्षमा कार्की र ओझाबीचको मिलन बिन्दु नभेटिएर विवाद चुलिए महानगर कमिटिका इन्चार्ज पर्शुराम बस्नेतले दावी गर्ने बताउँदै आएका छन् । दुवैतिर नजिक देखिएका रुपेश खतिवडाले पनि अध्यक्षमा उठ्ने दावीलाई अगाडी सारेका छन् । उनले प्रतिनिधि स्वतन्त्र भएर मतदानमा सहभागी हुनुपर्ने लाइनका कुरा गर्दै आएको बताइन्छ ।
संस्थापन इतर पु¥याइएका ढकाल समूहले भने यस अगाडी इमान्दारमाथिको ‘बेइमान अंकुश’ तोडेर पार्टीलाई एकढिक्का बनाउने दावी गर्दै आएको छ । आन्तरिक पार्टीपंक्तिबाटै मोरङको राजनीतिमा खेलेर पार्टी कमजोर बनाउँदा पछिल्लो समय संभावित पार्टी नेतृत्व विरुद्ध श्रृंखलावद्ध आक्षेप लाग्ने गरेको र त्यसको समन्वयकारी भूमिका निर्वाह गर्ने व्यक्ति नभएको बुझाई यो समूहको छ ।
महासचिव उपस्थित कार्यक्रम नै कमजोर
एमाले भित्र चुलिएको असन्तुष्टि पार्टीको आन्तरिक कार्यक्रममा समेत देखिदै आएको छ । अधिवेशनको पूर्वसन्ध्यामा गत शनिबार विराटनगर महानगरपालिका संगठन कमिटिको जरा केन्द्रीत अभियानमा त्यसको स्पष्ट झलक देखिएको थियो । महासचिव शंकर पोखरेल उपस्थित कार्यक्रममा जम्मा १३३ जनाले मात्रै माइन्यूटमा उपस्थिति जनाएका छन् । कार्यक्रम अवधीभर ७२ जना मात्रै बसेका थिए ।
जबकी विराटनगर भित्र मात्रै २११ जना संगठन कमिटिमा छन् । निर्वाचित कमिटिका अध्यक्ष सागर थापालाई कारवाही गरेर संगठन कमिटिको अध्यक्षको जिम्मेवारी रोहित कोइरालालाई दिइएको छ । महानगरपालिकाको इन्चार्ज पर्शुराम बस्नेत रहेका छन् ।
महासचिव आउने कार्यक्रममा महानगरपालिका कमिटि र वडाका अध्यक्षलाई मात्रै निम्त्याइएको अध्यक्ष कोइराला बताउँछन् । उनले आम कार्यक्रम नभएका कारण पार्टीका नेताहरु मात्रै उपस्थित भएकाले कमजोर जस्तो लागेको बताए । कोइरालाले २११ जनाको महानगर कमिटिमा ३० जना निस्क्रिय रहेको बताए । कोहि माथिल्लो कमिटिमा गएकाले नबोलाइएको दावी गरे । महानगर कमिटि बाहेक जिल्ला, प्रदेश, केन्द्रसम्मका नेताहरुको समेत उपस्थिति रहेको थियो । तर, जरा केन्द्रीत अभियान उद्घाटनको उपस्थिति कमजोर देखिनु संस्थापन पक्ष भनिएकाहरुका लागि १० औं अधिवेशनको पूर्वझट्का मानिएको छ ।
रोक्दारोक्दै नरोकिएको ढकाल पक्ष
पछिल्लो समय अध्यक्ष ओली समर्थक प्रदेशका नेताहरू र विनोद ढकालबीच कोशीमा तिक्तता देखिएकै छ । मोरङको पार्टी संगठनमा बलियो पकड कायम गरेका ढकाल पक्षका नेताहरूलाई रोक्नकै लागि अधिवेशन पटक–पटक सारिएको आरोप छ । तर, रोक्दारोक्दा पनि नरोकिएको ढकाल पक्षको दवाव मोरङमा थेग्न मुस्किल देखिएको थियो । पार्टीको मोरङ जिल्लाको १० औं अधिवेशन मूलतः संस्थापन भनिएको समूह र विनोद ढकाल पक्षबीच चल्ने गरि तयारी भईरहेको छ । केन्द्रीय समितिमा रहेका ढकाल यसअघि कोशी अध्यक्षमा घनश्याम खतिवडासँग पराजित बनेका थिए । त्यसैबेलादेखि ढकाललाई हराउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीदेखि पूर्वमुख्यमन्त्री शेरधन राई, भानुभक्त ढकालसहितका नेताहरू लागेका थिए । अहिले त्यहि झल्को मोरङमा देखिने संभावना छ ।
एमाले मोरङका तत्कालीन अध्यक्ष ऋषिकेश पोखरेल नेतृत्वमै २०८० जेठमा अधिवेशन आयोजक कमिटी बनेको थियो । आयोजक कमिटी बनेकै पनि एक वर्षपछि मात्रै सांसद पोखरेलले पद त्यागेका थिए । त्यसपछि २०८१ जेठमा बाबुराम कार्की नेतृत्वमा संगठन कमिटी बनेको थियो । एमालेको विधानले संगठन कमिटीको मुख्य काम आफ्नो अधिवेशन सम्पन्न गराउनुपर्ने किटान गरेको छ । विधानअनुसार संगठन कमिटीको अवधि ६ महिनाको हुने उल्लेख छ । जेठ १८ मा बनेको कमिटीको अवधि पूरा भइसकेको छ ।