विराटनगर । चालकले मादक पदार्थ खाएर सवारी चलाउँदा हुने संभावित दुर्घटनाको जोखिम उतिकै छ । यसको न्युनीकरणका लागि लागि ट्राफिक प्रहरीले आधुनिक प्रविधि ब्रेथलाइजरको प्रयोग गर्छ । यसमा मादक पदार्थ सेवन गरेको संकेत देखिए नियन्त्रणमा लिएर कारवाही हुन्छ ।
तर, पछिल्लो समय मादक पदार्थ भन्दा लागु पदार्थ सेवन गरेर सवारी हाक्ने चालकको संख्या उतिकै बढ्दो क्रममा देखिएको छ । खुल्ला सीमा क्षेत्र रहेको मोरङमा लागुऔषध सेवनकर्ता, ओसारपसार र कारोबारी वर्षेनी बढ्दै जाँदा त्यसको प्रभाव सवारीका चालकमा समेत देखिन थालेको हो ।
सवारीको स्टेरिङ्ग समाएकै अवस्थामा लागुऔषध सेवन गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणको प्रयास गरिरहेको दावी गरेको छ । यसका लागि बीचबीचमा आकस्मिक सवारी रोक्ने र चालकलाई पिसाब फेराएर लागुपदार्थ सेवन गरेको नगरेको परीक्षण गर्ने कार्य सञ्चालनमा ल्याएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार पछिल्लो दुई महिनामा दुईसय चालकमा गरिएको परीक्षणमा ३५ जनाको पोजेटिभ देखिएको छ । बुधबार मोरङको बेलबारी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५५ जना चालकमा गरिएको परीक्षणमा ११ जनामा लागुऔषध पोजेटिभ देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख लम्सालका अनुसार बुधबार गरिएको परीक्षणमा १८ जना ट्रक चालकमध्ये दुईजना पोजेटिभ, १३ जना टिपर चालकमध्ये चारजना, ११ जना यात्रुवहाक बस चालकमध्ये चारजना, ३ जना ट्याक्टर चालकमध्ये एकजनामा लागु पदार्थ सेवन गरेको पुष्टि भएको थियो । स्कुल बस, पिकअप, म्याजिक र कारका चालकमा भने नेगेटिभ देखिएको लम्सालले जानकारी दिनुभयो ।
लागुऔषध सेवन गरे नगरेको परीक्षणका लागि ‘मल्टी ड्रग्स टेस्ट प्यानल’ प्रयोग गरिन्छ । जसमा चालकलाई पिसाब गराएर थोपा चुहाएपछि त्यहाँ संकेत देखाउँछ । यो प्रेग्नेन्सी टेस्ट किट जस्तै कन्ट्रोल टेस्ट किट हो । जसमा चालकको पिसाब हालेपछि डबल रातो धर्का आए नेगेटिभ र सिंगल आएमा पोजेटिभ भन्ने हुन्छ ।
चालकले लागु पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटनाको जोखिम उतिकै हुन्छ । मादक पदार्थ सेवन गर्न भन्दा अझै सहज चाँहि लागु पदार्थ सेवन गर्न सहज हुने उनीहरुले बताउने गरेका छन् । खुल्ला सीमानाकाबाट सहजै भित्रने लागुऔषध चालकका गोजीसम्म पुग्दा त्यसले सवारी दुर्घटनाको जोखिम उतिकै बढ्ने चिन्ता छ ।
ट्राफिक प्रमुख लम्सालका अनुसार यसको नियन्त्रणका लागि यातायात व्यवसायीसँग समेत सहकार्य गरेर अहिले विभिन्न अभियानहरु सञ्चालन गरिदैं आएको छ । सार्वजानिक सवारीमा यातायात व्यवसायी र मजदुर समेतको साझेदारीमा जिम्मेवारी यातायात मजदुर भन्ने नारासहितको पोस्टर टाँस गरिएको छ । तर, लागुऔषध सेवन गर्ने चालकको संख्या भने उतिकै देखिएको हो ।
सीमापार भारतीय बजार पुगेर फर्केका युवाहरुलाई लक्षित गर्दै प्रहरीले लागु पदार्थ सेवन परीक्षण किट प्रयोगमा ल्याएको थियो । त्यस क्रममा सिटी सफारीका चालकहरुमा शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यहिंबाट क्रमशः प्रहरीले ठुला सवारी साधनका चालकमा यसको प्रयोग बढाउँदै लगेको हो । जसका लागि किटको उपलब्धता भए मात्रै पनि पुग्छ । प्रहरीका अनुसार यदि चालकलाई रोकेर कुनै बट्टामा पिसाब फेर्न लगाएपछि त्यसको थोपा किटमा राखेपछि स्वतः संकेत गर्ने भएकोले यो परीक्षणको सजिलो उपायबाटै पत्ता लगाउने सहज हुन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षको तथ्यांक अनुसार खैरो हिरोईन ५३९ ग्राम, गाँजा एक हजार १३७ केजी, एम्पुल दुईहजार ३५४ वटा र ट्याब्लेट ५९ हजार वटा बरामद भएको छ । प्रहरीले सीमा क्षेत्र, विराटनगरको रानी र बुधनगरलाई लागुऔषधको हटस्पटको रुपमा रेखाङकन गरेको छ । चालु आर्थिक वर्षमा १७१ वटा मुद्दा लागुऔषधसँग सम्बन्धित दर्ता भएको तथ्यांक छ । चालु आर्थिक वर्षको चैत ८ गतेसम्म एक हजार ४३२ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु र दुईहजार ३५२ जना घाईते भएको तथ्यांक मोरङ प्रहरीमा रहेको छ ।