प्रेम देवान
विराटनगर । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समिति धरानले प्रकाशित गरेको याक्खा जातिभित्रको कोयोङ्वा थरको प्रथम वंशावली पुस्तक विमोचन गरिएको छ ।
प्रथम कोयोङ्वा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातथलोबारे समावेश गरिएको पुस्तक धरानमा रहेको किरात याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो ।
कोयोङ्वा याक्खा समाज, केन्द्रीय समितिद्वारा प्रकाशित पुस्तकको समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र कार्यक्रमका प्रमुख अतिथी किराँत याक्खा छुम्माका केन्द्रीय अध्यक्ष भूपाल सिं जिमीले विमोचन गरेका थिए ।
पुस्तक विमोचनपछि जिमीले कोयोङवा वंशको प्रथमपटक कोयोङवा वंशावली प्रकाशनले सिङ्खो किरात याक्खा छुम्मा परिवार हर्षित भएको बताए । पुस्तक प्रकाशनले याक्खा समुदायको थर र वंशबारे आमजनमानसमा पुग्ने र कोयोङवाहरुको पहिचान समेत दिन पुस्तकले ठुलो सहयोग पुग्ने जिमीले बताए ।
सो अवसरमा विभिन्न कार्यक्रमका प्रमुख अतिथी तथा अन्य वक्ताहरुले वंशावली तयार पारेकोप्रति कोयोङ्वा समाज र वंशलाई बधाई तथा शुभकामना दिएका थिए । साथै कार्यक्रममा कोयोङवा याक्खा समाज सस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र धर्मदेवी २ तामाफोक संखुवासभा हाल काठमान्डौ निवासी ओमबहादुर कोयोङवालाई विशेष सम्मान गरिएको छ । उनीहरुले पुस्तक प्रकाशन तथा कोयोङवा समाजको प्रथम अधिवशेन लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याए वापत विशेष सम्मान गरिएको कोयोङवा याक्खा समाजका महासचिव नरेन्द्रबहादुर कोयोङवाले जानकारी दिए । साथै कार्यक्रममा पुस्तक विमोचन गर्न आर्थिक ,भौतिक रुपमा साथ सर्पोेट गर्नेहरुलाई पनि समाजले सम्मान पत्रसहित सम्मान गरेको छ ।
कार्यक्रमलाई थप मनोरन्जन बनाउनको लागि केईलाक तथा अन्य सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । २ सय १० पुष्ठको पुस्तकमा कोयोङ्वा थरका १९ पुस्ताको वंश विस्तार तथा वंश वृक्ष उल्लेख गरिएको छ । त्यस्तै, नेपालका विभिन्न जिल्लाका साथै भारतमा समेत गरेर २५ गाउँरबस्तीमा कोयोङ्वाहरुको बसोवास रहेको पनि पुस्तकमा जनाइएको छ ।
प्रथम पुस्तक कोयोङ्वा वंशवली प्रकाशनले कोयोङवा वंशले पनि आफ्नो सभ्यता विकासमा अगाडी बढाउदै आएको कोयोङवा याक्खा समाजका अध्यक्ष कृष्ण बहादुर कोयोङवाले बताए । यसले अब आउने पुस्तालाई पनि यसले ठुलो सहयोग पुग्ने कोयोङवाले उद्घोष गरे ।
पुस्तकमा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातवासबारे पनि लेखहरु समावेश छन् । यसका साथै विभिन्न ऐतिहासिक दस्तावेज र तस्बिर समेत पुस्तकमा राखिएको । वंशावलीको खोजकर्ता नरेन्द्रबहादुर कोयोङ्वा र गोमबहादुर कोयोङ्वाले गरेका हुन् । त्यस्तै विविध विवरण संकलन तथा पुस्तकको सम्पादन पनि नरेन्द्रबहादुर कोयोङ्वाले गरेका छन् ।
पुस्तक तयार पार्न करिब १० वर्ष लागेको खोजकर्ता, संकलक तथा सम्पादक नरेन्द्रबहादुर कोयोङ्वाले बताए । उनका अनुसार विवरण संकलन तथा खोजका लागि वंशावली निर्माण टोली नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका स्थानसम्म पुगेको थियो । कोयोङ्वा वंशको करिब ३ सय ५ घरधुरीमा बसोवास रहेको समाजले जनाएको छ । पुस्तक विमोचन अघि कोयोङवा याक्खा समाजले धरान स्थित सर्दुखोलामा गालीसराप बगाएका छन् ।
प्रदेश एकको विभिन्न जिल्लामा बसोबास गर्दै आएका कोयोङवाहरु भेला भई कोयोङवा मुन्धुम विधि अनुसार विशेष गरेर आफ्ना पिता पुर्खाहरुले भुल अन्जान बस गरेका गल्ति आफ्नो सन्ततिहरुलाई सराप नपरोस दुख नपाउन भनेर खोलामा गएर गालीसराप बगाएका छन् ।