इन्दु साह
विराटनगर । घर, जहाँ हाँसो, माया र सुरक्षाको आशा गरिन्छ तर त्यही घर जब हिंसाको अखडामा परिणत हुन्छ । तब त्यो पिडा शब्दले मात्र बयान गर्न सकिँदैन। सन्तानको सपना देख्ने एउटी महिलाको जिन्दगी, हिंसाको घेराभित्र कति विवश छ भन्ने कथा कोशी प्रदेशका थुप्रै महिलाहरुको साझा पीडामा झल्किन्छ ।
२९ वर्षीया एक महिलाको सपना थियो, सन्तान जन्माउने । आफ्नो सानो संसार बनाउने। तर, विवाह भएको केही महिनामै सम्बन्धमा दरार आयो। आफ्नै श्रीमानसँग सन्तानको कुरा गर्दा उनले कुटपिट सहनुपर्यो । उनीसँग शारीरिक सम्पर्क त गर्थे, तर सन्तानको चाहना राखे, म माथि हात उठ्थ्यो उनी भन्छिन् । सन्तानको सपना देख्नु पनि जब सजायको कारण बन्छ । तब त्यो सपना नै शून्यजस्तो लाग्छ ।
यस्तै अर्को घटना, ५२ वर्षीया एक महिलाको छ। विवाह भएको तीन दशकभन्दा बढी भइसक्यो। एक छोरीकी आमा भइसकेकी उनी, आज पनि आफ्नै श्रीमानको कुटपिट सहेर बसिरहेकी छिन् । मलाई गाली गर्नु त उनलाई बानी नै भइसकेको थियो, तर अहिले त ज्यानै मार्ने गरी कुट्छन् उनी सुनाउँछिन्। उमेरले न रोक्यो, न त सम्बन्धको गहिराइले। अझै डा. निता यादवको घटना त कानुनी अन्यायको घोर उदाहरण हो। श्रीमानको मृत्युपश्चात पाउने कानुनी अंशसमेत परिवारले दिन मानेन। अदालतले फैसला गर्यो, तर सासु, ससुरा र देवरले मेरो हकको सम्पत्ति दिन मानेनन्, भन्दै उनले सार्वजनिक रूपमा आफ्नो आवाज उठाइन्। यी त केवल सतहमाथि देखिएका केही घटना मात्र हुन्। वास्तविकतामा यस्ता सयौं महिलाहरू छन्, जो दिनहुँ हिंसा सहेर चुपचाप बाँचिरहेका छन्। समाजको डर, परिवारको बदनामीको भय, अनि आफ्नै भविष्यप्रति अन्योलका कारण उनीहरूको आवाज दबिन्छ।
ओरेक (महिला पुनर्स्थापना केन्द्र) को तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र जनवरीदेखि मार्च २०२५ सम्म ८४ वटा महिला हिंसाका घटना दर्ता भएका छन्, जसमा ७१ प्रतिशत घरेलु हिंसासम्बन्धी छन्। जबर्जस्ती करणी, यौन दुर्व्यवहार, मानसिक पीडा, साइबर धम्की लगायत हिंसाका रूपहरू अनगिन्ती छन्। जब घर नै असुरक्षित बन्छ, तब सुरक्षित जीवनको आशा कहाँ गर्ने ? ओरेक नेपाल मोरड। जिल्लाकी प्रमुख शोभा बजगाईका अनुसार पितृसत्तात्मक सोच, महिला श्रमको अवमूल्यन र शरीरमाथिको अधिपत्यको मानसिकता परिवर्तन नगरेसम्म हिंसा अन्त्य हुँदैन। महिला हुनुले दुःख सहनु पर्ने होइन, आवाज उठाउनु पर्ने हो बजागाईले भनिन् ।
ओरेक नेपालको कार्यालयमा आएका, सुरक्षा आवासमा सेवा लिएका, हटलाइनमा आएका (पैसा नलाग्ने नम्बर) र जिल्लामा पुगेका तीन महिना (जनवरीदेखि मार्च २०२५) सम्म अभिलेखिकरण गरिएका तथ्याङ्कलाई त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको हो । यस समयावधिमा कोशी प्रदेशका तीन जिल्लाहरू (उदयपुर, सुनसरी र मोरङ) मा महिला हिंसा सम्बन्धी कुल ८४ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण भएका हुन् । जसमध्ये २४ जना हिंसा प्रभावितहरुले सुरक्षावासमा सेवा लिएका थिए भने अन्य ६० वटा घटनाहरू (कार्यालय, हटलाइन र फिल्डबाट) सेवा लिने सेवाग्राहीहरूको रहेको छ । उक्त घटनाहरुलाई विश्लेषण गर्दा सबै भन्दा बढी ७१ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिएकोे हो ।
८४ वटा महिला हिंसाका घटनाहरू सङ्कलन गरिएकोमा, घरेलु हिंसा सबैभन्दा बढी (६० घटना, ७१.४२ प्रतिशत) रहेको छ । जसमा मानसिक, शारीरिक तथा भावनात्मक हिंसा समावेश छन् । यौन हिंसाका १६ वटा (१९.०४ प्रतिशत) घटनामा जबर्जस्तीकरणी, यौन दुव्र्यवहार र बाल यौनदुव्र्यवहार प्रमुख रहेका छन् । सामाजिक हिंसाका ३ वटा (३.५७ प्रतिशत) घटना दर्ता भएका छन् । त्यस्तै अन्य हिंसा अन्तर्गत ५ घटनामा प्रभावितहरूले मानसिक हिंसा, साइबर धम्की भएकोे कुरा उल्लेख भएका छन ।
उमेरका आधारमा विश्लेषण गर्दा १८ वर्ष भन्दा मुनि २० प्रतिशत किशोरी, १९ देखि २५ वर्ष उमेर समूहका १८ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका ३४ प्रतिशत , ३६ देखि ४५ वर्ष उमेर समुहका १८ प्रतिशत, ४६ देखि ५५ वर्ष उमेर समुहका ५ प्रतिशत र ५६ वर्ष उमेर समूह भन्दा माथि ५ प्रतिशत महिला हिंसाबाट प्रभावित भएका छन् ।