सुजाता राई
एकल नारी भएर बाँच्न सजिलो हुँदैन। साथ विहीन नारीलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि कठोर छ। सन्तानको पेट पाल्न घर बाहिर निस्किनु पर्दा, सम्मान होइन, शंका र अपमानको भारी बोक्नुपर्छ।
यिनै अनुभूतिहरू बोकेर अघि बढेकी छन् – मोरङको लेटाङ नगरपालिका–६ की दिलमाया तामाङ (राई)। सानो होटलबाट व्यवसायको सुरूवात गरेकी उनी अहिले टप हिल (होमस्टे) नामको प्रतिष्ठान सफलतापूर्वक सञ्चालन गरिरहेकी छिन्।
डाबाट प्रेरणासम्मको यात्रा
१५ वर्षको उमेरमा पाँच कक्षा पढेकी दिलमायाले अनिल राईसँग विवाह गरिन् । तर विवाहपछिको जीवन सहज भएन। घरेलु हिंसाबाट पीडित भइन्। यस्तै संघर्षपूर्ण यात्रामा उनका श्रीमानको ४१ वर्षको उमेरमा निधन भयो । अचानक एकल बनेकी दिलमाया जीवनको ठूलो मोडमा आइन्। तीन सन्तानकी आमा उनी एकछिनका लागि पनि नढल्की, व्यवसायमा खटिइन्। धेरैले आलोचना गरे, औंला ठड्याए – तर उनले हार मानिनन्।
सानो होटलबाट तिनतले ‘टप हिल’
एकसरो काठको सानो होटललाई उनी अहिले तीन तले होटेलमा रूपान्तरण गर्न सफल भएकी छन्। १७ वटा कोठासहितको होटलमा आवास, खाना, कार्यक्रम स्थल आदि सबै सुविधा उपलब्ध छन्। १०० देखि १५० जनासम्मको बैठक गर्न मिल्ने हल, र बैठकका लागि न्यूनतम १०००–१५०० रुपैयाँ शुल्क लिइन्छ। नेपाली खाना, ढिँडो, वाचिङ्पा (लोकल कुखुराको झोलयुक्त तरकारी) यहाँको विशेषता हो। एक रातको कोठा भाडा १,००० रुपैयाँ पर्छ।
आफ्नै खेतबारीको उत्पादन
होटलमा प्रयोग हुने अधिकांश तरकारी र सामग्री उनी आफ्नै करेसाबारी र फार्मबाट ल्याउँछिन्। बङ्गुर, कुखुरा पालन, सिजनअनुसार तरकारी खेती गरी आफूले उत्पादन गरेको अर्गानिक खाना ग्राहकलाई प्रदान गर्दै आइरहेकी छिन । बजारमा भर नपरी आफूलाई आत्मनिर्भर बनाउन उनी निरन्तर लागिपरेकी छन्।
महिला मात्र होइन, प्रेरणा हुन् दिलमाया
हाल उनी मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेकी छिन्। छोरीहरूलाई डिप्लोमा पढाइ सकाएकी छन् भने छोराको बिहे गरिदिएकी छिन।
हुन त थुप्रै अप्ठ्यारा आए, तर उनले आफूलाई कहिल्यै कमजोर बन्न दिइनन्। दिलमाया तामाङ आज गाउँको मात्रै होइन, देशभरका महिलाहरूका लागि पनि प्रेरणाको नाम बनिसकेकी छन् । साहस, आत्मनिर्भरता र संघर्षको अर्को नाम।