अब आफ्नै जवानी बोझ लाग्न थाल्यो,
सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा
मनमा डर लाग्न थाल्यो।
जिम्मेवारीको पहाड काँधमा,
र सपनाको तुफान मनमा ।।
एक्लै, विरान सहरमा,
किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो ।
अधुरा सपना छन्, अधुरा रहर छन्,
कहिले पूरा होलान्?
"आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा,
तर कहिले साँचो घरजम बन्छ?
काम गर्न मन लाग्छ, केही गरूँ भन्ने हुटहुटी छ,
तर अवसर छैन, बाटो छैन ।
विदेश जान मन लाग्छ, भिसा लाग्दैन।
डर लाग्न थाल्यो ।
जवानी भन्नु के हो?
आफैंलाई बुझाउँ, कि भावनालाई चुप लगाउँ?
आफ्नै जवानीसँग हार लाग्न थाल्यो ।
यो हिम्मत कम हुँदैछ।
अब त आफ्नै जवानी भारी लाग्न थाल्यो।
सपना कुरिरहेका छन् आमा-बुबा,
छोराले केही गर्छ भनेर ।
तर म? म त अँध्यारोमा सपनाको पछाडि दौडिरहेको छु,
निद्रा छैन, शान्ति छैन,
मन पनि भारी, आँखाहरु पनि रसाएका ।
कहिलेकाहीँ ती आँसु नै मनको भारी हल्का बनाउँछन्।
अब त पशुपतिनाथसँग बिन्ती छ ।
हामीलाई पनि सफल बनाइदेऊ,
हामीलाई पनि आशाको किरण देखाइदेउ ।
आमा-बुबाको आशालाई विफल हुन नदेऊ,
किनभने अब आफ्नै जवानी बोझ लाग्न थाल्यो।