विराटनगर । द काउन्सिल अफ जेन जि मोरङले आफ्ना तीन बुँदे मागहरू २४ घन्टाभित्र कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुझाएको छ।
जेन्जि आन्दोलनका प्रतिनिधिहरूले दिएको ज्ञापनपत्रमा भाद्र २३ का अपराधीलाई कारबाही नगरी भाद्र २४ का आन्दोलनकारीमाथि कारबाही गर्न नपाइने स्पष्ट माग गरिएको छ। त्यस्तै, जघन्य अपराध बाहेक अन्य घटनाका आरोपीहरूलाई तत्काल बिना सर्त रिहा गरी मुद्दा फिर्ता गर्नुपर्ने, साथै ऐतिहासिक जेन्जि आन्दोलनलाई संस्थागत गर्नुपर्ने भनिएको छ।

ज्ञापनपत्रमा विगतदेखि नै विभिन्न माध्यमबाट माग राखिएको भए पनि सरकारले प्रभावकारी पहल नगरेको भन्दै गम्भीर चासो व्यक्त गरिएको छ। लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाज सुनिनु र सम्बोधन हुनु सरकारको दायित्व भएको उल्लेख गर्दै मागहरू छिटो लागू गर्न सरकारलाई आग्रह गरिएको छ।
समयसीमा भित्र माग सम्बोधन नभए शान्तिपूर्ण, कानूनसम्मत तथा अहिंसात्मक हङ्गर स्ट्राइक (अनशन) प्रारम्भ गर्न बाध्य हुने चेतावनीसमेत जेन्जि मोरङले दिएको छ। आन्दोलनका क्रममा कुनै पनि अप्रिय घटना वा सुरक्षा जोखिम उत्पन्न भए यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारमै रहने स्पष्ट गरिएको छ।