काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको सूचीमा राख्ने र सिकाउनु पर्छ ।’उनले विद्यालयमा हरेक शुक्रबार ध्यान र योगलाइ निरन्तर दिन शिक्षकहरुलाई पनि ज्ञान नभएको भन्दै शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

‘कतिपय विद्यालयमा ध्यान कसरी गर्ने भन्नेबारे शिक्षकहरुलाई पनि थाहा छैन । शिक्षकहरुलाई पनि कक्षा सुरु गर्नुभन्दा अगाडि एक मिनेट ध्यान बस्ने र सिकाउने गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा लागेका संस्थाहरुले शिक्षकका लागि तालिमको व्यवस्था गर्नुपर्छ । त्यसका शिक्षा मन्त्रालयले पनि सहयोग गर्छ,’ उनले भने ।यस्तै उनले नैतिक शिक्षा पाठ्यक्रमा पढेर मात्र नहुने भन्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।
‘नैतिक शिक्षा भन्ने कुरा किताबमा पढेर मात्र नैतिकवान हुने होइन । यो त व्यवहारमा लागु गर्ने कुरा हो । यो सानो उमेरदेखि गर्नुपर्ने कुरा हो । नैतिक बाल कक्षादेखि कक्षा १,२,३,४,५ कक्षासम्ममा नैतिकवान बनाउन सकियो भने नैतिक बने तर ठूलो भएर ९, १० कक्षामा नैतिक शिक्षा पढाएर नैतिक हुँदैनन्,’ उनले भने ।