औद्योगिकनगरी विराटनगरमा छैन प्रदर्शनी स्थल, खाली ठाउँ खोज्दै मेला लगाउँदै, के भन्छन् उद्योगी ?

<span class='c1'>औद्योगिकनगरी विराटनगरमा छैन प्रदर्शनी स्थल, खाली ठाउँ</span> <span class='c2'>खोज्दै मेला लगाउँदै, के भन्छन् उद्योगी ?</span>

प्रेम देवान (लुङवा)
विराटनगर ।
औद्योगिक केन्द्र मानिने विराटनगरमा वर्षौंदेखि ट्रेड एक्स्पो, व्यापार मेला, औद्योगिक प्रदर्शनी जस्ता नाममा कार्यक्रम हरेक वर्ष आयोजना हुन्छन् । उद्योगी–व्यापारीका विभिन्न तहका संस्थाले निरन्तर यस्ता कार्यक्रम आयोजना गर्ने गरेका छन् । तर, दिगो हुने गरी कुनै स्थायी प्रदर्शनी स्थल भने छैन । त्यसले आयोजनाकर्ता, उद्योगी तथा व्यापारीहरू वर्षौंदेखि समस्या झेल्दै आएका छन् । त्यति मात्रै नभई आयोजनास्थल स्थायी नहुँदा वर्षैपिच्छे फेरिने मेलास्थलले अवलोकनकर्तालाई समेत झुक्याउने गरेको छ । हाल सञ्चालन हुने अधिकांश एक्स्पो तथा महोत्सवहरू खाली जग्गामा अस्थायी टहराको निर्भर रहँदै आएका कारण मौसम, संरचनागत कमजोरी, सुरक्षा व्यवस्थापन तथा भौतिक सहजतामा चुनौती आइरहने गरेको गरेको आयोजकहरुको तितो अनुभव छ ।
स्थायी प्रदर्शनीस्थल नहुँदा आयोजनाकर्ता, उद्योगी तथा व्यापारीहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ । विगतलाई अलिकति फर्केर हेर्ने हो भने, विराटनगरमा २०५३ सालमा आर्दश स्कुलको प्राङगणमा कोशी महोत्सव भएको जानकारहरु बताउँछन् । तत्कालिन राजा विरेन्द्र शाहले उद्धघाटन गरेको ईतिहास छ । त्यो बेला उद्योग संगठन र मोरङ व्यापार संघले सयुक्त रुपमा आयोजना गरेका थिए । त्यसपछि विराटनगरको शहिद रंगशालामा व्यापार मेलाहरु लाग्न थाल्यो । केही बर्षसम्म सहिद रंगशालामा औद्योगिक व्यापार मेला आयोजना गरियो । त्यसपछि भने शहिद रंगशालालाई व्यावसायिक रुपमा फुटबल प्रतियोगिता लगायत खेलकुद प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने माग बढ्यो । मेला महोत्सवले मैदानको मापदण्ड बिगारेको निष्कर्ष निकालिएपछि रोकियो ।

त्यसपछि समस्या उत्पन्न सुरु भएको हो । औद्योगिक शहरमा दीर्घकालीन प्रदर्शनीस्थल नभएपछि निजी जग्गाहरुको खोजी सुरुभयो । नभन्दै विराटनगरको मुटु अर्थात विराटनगर २ स्थित सोमबारे नजिकै रहेको खाली जमिनमा व्यावसायीहरुको नजर पुग्यो । त्यो जग्गा पनि व्यक्तिगतको भएका कारण हाल प्लटिङमा भइसक्यो । उद्योग संगठन मोरङले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको जग्गालाई केही बर्षको लागि लिजमा लिएर औद्योगिक व्यापार मेला आयोजना गर्दै आएको छ । त्यहाँ उद्योग संगठन मोरङले घेराबेरा पनि गरेको छ । यस पटक मोरङ उद्योग व्यापार सघले व्यापार मेला आयोजना गर्ने तयारी गरिरहेको छ ।

संघले विराटनगर १ स्थित शान्तिचौकको खालि जग्गामा तयारी र बन्दोबस्ती गरिरहेको छ । यही पुस ९ गतेदेखी १९ गतेसम्म विराट ट्रेड एक्स्पो आयोजना त्यहाँ गर्दैछ । यसरी विभिन्न व्यक्तिका जग्गाहरुमा वर्षौंदेखि एक्स्पो, व्यापार मेला, औद्योगिक प्रदर्शनी लगायतका कार्यक्रमहरू गर्नुपर्दा निकै समस्याहरु झेल्नुपरेको तितो अनुभवहरु उद्योगीहरुको छ । औद्योगिक नगरी विराटनगरमा एकसे एक उद्योगी छन् ।


देशमै उद्योगी व्यवसायीहरु संगठित सबैभन्दा पहिला विराटनगरमै भएका हुन् । त्यति मात्रै नभई उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग मोरङ संघको स्थापना पनि विराटनगरमा नै भएको हो । त्यहि पनि अहिलेसम्म औद्योगिक प्रदर्शनीस्थलको जोहो भने भएको छैन । यसमा उद्योगीहरुको आ–आफ्नै दावी र भनाई रहँदै आएका छन् । तर, औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता भने जरुरी भइसकेको छ ।

'प्रदर्शनी स्थलको लागि २ दशकदेखी प्रयास जारी छ '


राजेन्द्र राउत अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश

कोशी प्रदेशको कृषी उत्पादन वस्तुहरुलाई आम उपभोक्ता सामु सहज रुपमा पुर्याउन र यहाँको व्यापार व्यावसायहरुलाई प्रवद्र्धन गराउनको लागि विराटनगरमा स्थायी प्रदर्शनी स्थल हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् । राउतले भने, यहाँका व्यवसायीहरुले विगत २ दशक भन्दा लामो समयदेखी राज्यसँग यो माग गर्दै आए तरपनि उपलब्धी हुन सकेको छैन । राउतका अनुसार देशकै प्रमुख औद्योगिक सहर विराटनगरमा अझैसम्म विश्वसनीय, व्यवस्थित र दिर्घकालीन प्रदर्शनीस्थल नहुनु विडम्बना हो। “हामीले हरेक वर्ष सरकारले ध्यान दिन आग्रह गर्दा पनि स्थायी संरचना बन्न सकेको छैन,” उनको गुनासो छ । स्थायी प्रदर्शनी स्थल बनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रविधि प्रदर्शनी, कृषि तथा उद्यमशीलता मेलाहरू उच्च प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ। यसले प्रदेशको आर्थिक गतिविधि विस्तार मात्र होइन, पर्यटन तथा लगानी आकर्षणमा पनि सहयोग पुग्ने उनको तर्क छ ।

'सरकारलाई पटक पटक ध्यानाकर्षण'


नन्दकिशोर राठी उद्योग संगठन मोरङ (अध्यक्ष)

यहाँका उद्योगी तथा व्यावसायीहरूले स्थानीय , प्रदेश , सघिय सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाउँदै आधुनिक प्रदर्शनी स्थल निर्माणका लागि बजेट विनियोजन र जग्गा व्यवस्थापनमा सहजीकरण गर्न लामो समयदेखी माग गर्दै आएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । तर कुनै पनि तहका सरकारले हाम्रो जायज मागको सुनवाई नगरेको राठीको आरोप छ । राठीले भने, उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघले विराटनगर ३ स्थित आयल निगम पूर्व ३ बिघा जग्गा प्रदर्शनी स्थलको लागि १ सय बर्षको लिजमा लिने निर्णय गरेता पनि विभिन्न राजनैतिक हस्तक्षेपका कारण अहिले अन्यौलमा परेको छ । विराटनगर महागरपालिकाको मातहतमा रहेको करिब ३ विघा जमिनमा भ्यू टावर बनाउने निर्णय गरिएको थियो तर अहिले एयरर्पोटको कारण रोकिएको छ । उनले भने,‘‘हामीले उक्त स्थानलाई स्थायी रुपमा प्रदर्शनी स्थल बनाउने तयारीमा थियौ तर यहाँ राजनैतिक चलखेलले काम अगाडी बढ्न सकिरहेको छैन, यसको लागि विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले सहजीकरण गर्न सके प्रदर्शनीस्थल बन्ने निश्चित छ ।

'प्रदर्शनी स्थल नहुँदा नयाँ–नयाँ ठाँउ खोज्नु परेको छ'


अनुपम राठी मोरङ उद्योग व्यापार संघ (अध्यक्ष)

विराटनगर एउटा पुरानो औद्योगिक करिडोर शहर भएका कारण स्थायी रुपमा प्रदर्शनी स्थल हुनु अति आवश्यक रहेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताउँछन् । विराटनगमा उचित प्रदर्शनी स्थल नभएकै कारण लामो समयदेखी एक्स्पो जस्ता प्रर्दशन गर्न नयाँ नयाँ ठाँउको खोजी गर्नुपर्ने वाध्यता रहेको राठीको भनाई छ । उनले भने, यसले गर्दा नयाँ नयाँ ठाँउमा अस्थाई रुपमा प्रदर्शनी स्थल बनाउनुपर्दा आर्थिक हिसावले पनि ठुलो नोक्सानी व्याहोर्नुपरिरहेको छ । राठी भन्छन्, ‘‘विराटनगरमा एउटा उचित र व्यवस्थित प्रदर्शनीस्थल भईदिएको भए, यहाँका व्यापार उद्योगका उत्पादन वस्तुहरुलाई प्रवद्र्धन गर्न र उपभोक्ताहरुलाई सहज रुपमा पुर्याउन पनि सहयोग हुने थियो, राज्यले यसमा विशेष ध्यान दिनुपर्ने वाध्ययता रहेको छ ।’’
०००००
'प्रदर्शनी स्थल नभएका कारण यहाँका व्यावसायीहरुले धेरै अवसरहरुबाट वञ्चित हुनुपरेको छ'


विजयहरी शर्मा नेपाल उद्योग परिसंघ कोशी प्रदेश (महानिर्देशक)

कोशी प्रदेशको राजधानी जस्तो विराटनगरमा एउटा स्थायी प्रदर्शनी स्थल नहुँदा यहाँका उद्योगी व्यावसायीहरुले धेरै अवसरहरुबाट वञ्चित हुनुपरेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महानिर्देशक विजयहरी शर्माले बताए । प्रदर्शनी नभएकै कारण आज यहाँको व्यापार व्यावसायले पनि ठुलो नोक्शानी व्याहोर्नु परेको छ । शर्माले भने,‘‘बजारको लागि अभाव भईरहेको अवस्था छ , यदि दीर्घकालिन रुपमा एउटा व्यावस्थित व्यापार मेलाको लागि प्रदर्शनी स्थल भएको भए धेरै मानिसले रोजगारी पनि पाउथे ।’’
अन्तमा :
प्रदर्शनीस्थलको मुद्दा उद्योगी व्यवसायीको साझा भएपनि यसले पार पाउन सकेको छैन । यो मुद्दा निजी क्षेत्रले उठाएपनि यसको आवश्यकता भने सरकारीस्तरमै जरुरी छ । सरकारले आफैं प्रदर्शनीस्थल निर्माण गरिदिनुपर्ने हो । तर, प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना नभएपनि यसको लागि जग्गाको उपलब्धता गरिदिने हो भने उद्योगीहरुले पहल लिनसक्ने संभावना उतिकै छ । त्यसैले तीनै तहका सरकारले तत्काल जग्गाको उपलब्धता र आधुनिक प्रदर्शनीस्थल निर्माणमा ध्यान दिनु जरुरी उतिकै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्