विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रम मार्फत दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी पारस मल्टिस्पेशालिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेमनारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफतेन रजा अन्सारीले हस्ताक्षर गर्नुभएको छ।
सम्झौताअनुसार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलबाट उपलब्ध क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवासहित अन्य विशेषज्ञ सेवाहरुमा दुवै संस्थाले सहकार्य गरेका छन् । साथै दुवै अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको सिप विकासका लागि तालिम, अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिने बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्कीले जानकारी दिनुभयो।
यसैगरी पारस हस्पिटलबाट रेफर भएका बिरामीहरूले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ओपीडी सेवा निःशुल्क प्राप्त गर्नेछन्। भने अन्य उपचार तथा सेवा सुविधामा विशेष छुटको व्यवस्था गरिएको पारस हस्पिटलका सीईओ हेमनारायण मेहताले बताउनुभयो।
उक्त सम्झौताले दुवै अस्पतालबीच सेवा आदान–प्रदानलाई थप प्रभावकारी बनाउने, बिरामीलाई गुणस्तरीय उपचारमा सहज पहुँच दिलाउने तथा स्वास्थ्य क्षेत्रमा मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुग्ने पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले बताउनुभयो । पारस हस्पिटलका बिरामीहरूका साथै कर्मचारीहरु र कर्मचारीहरुको परिवारले समेत यो सुविधा उपभोग गर्न पाउनेछन्। पारस हस्पिटलमा उपचार सम्भव नभएका वा थप विशिष्टीकृत सेवा आवश्यक पर्ने बिरामीहरूलाई बिराट मेडिकल कलेजमा विशेष छुटका साथ उपचार,सेवा सुविधा पाउनेछन्।
क्यान्सर समयमै पहिचान गरी उपचार गर्दा निको पार्न सकिने रोग हो। क्यान्सरको उपचारका लागि अब नेपालीहरूले भारत वा अन्य देश धाउनुपर्ने समय बितिसकेको छ। पूर्वी नेपालको प्रतिष्ठित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सहज रूपमा उपलब्ध रहेको छ। क्यान्सर सम्बन्धी थप जानकारी र सुझावका लागि ९७६१००२५३० मा सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ।