विराटनगर । भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा पूर्वाञ्चल बालसेवा आश्रममा आयोजित निस्शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा आश्रममा रहेका बालबालिका तथा अन्य वृद्धवृद्धाको समेत निःशुल्क आँखाको परीक्षण गरिएको थियो।


आयोजकका अनुसार शिविरमा ८ महिना देखि १८ वर्ष उमेर समूहका बालिका तथा बालक गरी ५३ जना बालबालिकाको विस्तृत आँखाको परीक्षण गरिएको हो। परीक्षणका क्रममा धेरै बालबालिकामा एलर्जिक कन्जक्टिभाइटिस, ग्लुकोमा शङ्कास्पद अवस्था, रिफ्र्याक्टिभ एरर, ड्राइ आई, मोतिबिन्दु, स्ट्राबिस्मस तथा एम्ब्लायोपिया जस्ता समस्या देखिएका थिए।
शिविरमा सहभागी बालबालिकालाई प्राथमिक उपचारसँगै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। आँखा परीक्षण तथा स्वास्थ्य सेवाको नेतृत्व कन्सल्टेन्ट अप्टोमेट्रिस्ट नेहा कर्णसहितको प्राविधिक टोलीले गरेको थियो। टोलीले बालबालिकाको दृष्टि संरक्षणका लागि आवश्यक परामर्श तथा उपचार सेवा समेत प्रदान गरेको जनाइएको छ।

कार्यक्रमलाई सफल बनाउन बिराट अप्टिकल एण्ड आई केयर सोलुसनले सहकार्य गरेको थियो। भिजन फर चिल्ड्रेन फाउन्डेसनले आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।