मुगु । सदरमुकाम गमगढी बजारमा लामो समयदेखि खानेपानीको चरम समस्या झेल्दै आएका गमगढीबासीका लागि राहतको संकेत देखिएको छ । गमगढी बजारमा खानेपानी सुधार विस्तार आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै आउँदो दिनमा सहज हुनेमा स्थानीय आशावादी छन् ।गमगढीमा हाल ५ सय ८६ घरधुरी छन् । गमगढी खानेपानी उपभोक्ता समितिका अनुसार २ लाख ५० हजार घनमिटर क्षमताका रिजर्भ ट्यांकीबाट हाल ४ सय ५० घरधुरीले मात्रै नियमित पानी उपभोग गर्दै आएका छन्। बिहान बेलुका यि टयाङ्कीबाट २ करोड ५० लाख लिटर पानी बितरण भइरहेको भएपनी आवश्यक्ता अनुसारको पानी पुराउन नसक्दा पानीको समस्या झेल्नु परेको हो ।
गमगढी बजारमा खानेपानीको अभाव समाधान गर्नका लागि संघीय खानेपानी आयोजना सुर्खेतमार्फत ८ करोड २३ लाख ६९ हजार ९ सय ६७ रुपैयाँ लागतमा गमगढी खानेपानी सुधार विस्तार आयोजना सञ्चालनमा ल्याइएको छ । आयोजना अन्तर्गत १४ किलोमिटर टाढाबाट पानीको मुहान ल्याई १ लाख ४५ हजारको चारवटा नयाँ रिजर्भ ट्यांकी निर्माण गरिँदैछ । आरयु मैनाली केटीएस जेभीले निर्माणको जिम्मा लिएको आयोजनामा मुख्य पाइपलाइन बिछ्याउने काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । विशेषगरी फागुनदेखि जेठ–असारसम्मको अवधी गमगढीबासीले चरम खानेपानी संकट झेल्दै आएका छन् । धारामा पानी नआउँदा आधा घण्टा टाढा रहेको कार्कीबाडा र चैनखोलाका ढुंगेधाराबाट पानी बोकेर ल्याउन बाध्य छन । सो अवधीमा हप्तामा दुई तिन दिनसम्म धारामा पानी नआउने गरेको स्थानीयको गुनासो रहेको मुगु जिल्ला छाउल्या टिमकम अध्यक्ष बिर्ख बहादुर मल्लले बताए ।
बजारमा आकाश र जमिनमा लथालिङ्ख रुपमा पाइपहरु रहँदा बजारमा सवारी साधन गुडाउन पनि समस्या हुनुका साथै बजारको स्वरुप पनि विग्रिएको स्थानीयको भनाइ छ । हाल बिहान–बेलुका करिब ३ करोड लाख ९५ लाख लिटर पानी आवश्यक पर्ने भए पनि हाल २ करोड ५० हजार लिटर मात्रै पानी वितरण हुँदै आएको छ । नयाँ आयोजनाले गमगढी बजार क्षेत्रका उपभोक्ताको समस्या पूरा हुने गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर मल्लले जानकारी दिए ।आयोजनाअन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ स्थित झ्यारी खोलाको मुख्य मुहानबाट ४ सय मिटर १ सय २५ एमएम, बाँकी १ सय १० एमएमका पाइप प्रयोगगरी पानी ल्याइँदैछ। कालीका–मालिका मन्दिर नजिक ४५ हजार, ठिनीमा २५ हजार र डिमुखाडामा २५ हजार घनमिटर क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माण हुँदैछन् । साथै कार्कीबाडा मुहानबाट ५० एमएमको पाइपमार्फत पुरानो खानेपानी कार्यालय परिसरमा ५० हजार घनमिटर क्षमताको ट्यांकी निर्माण गरिने संघीय खानेपानी आयोजना सुर्खेतका सब–इन्जिनियर खगेन्द्र भण्डारीले बताए ।
आयोजना २०८४ असार २४ गते भित्र सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कम्पनीले आउँदो असार महिनाभित्रै काम सक्ने लक्ष्य लिएको छ ।
निर्माणको जिम्मा लिएको आरयु मैनाली केटीएस जेभीका आधिकारिक प्रतिनिधि केशव चौलागाईंले निर्धारित समयभन्दा अघि नै आयोजना सम्पन्न गर्ने प्रयास भइरहेको बताए ।