विराटनगर–११ मा नाला अस्तव्यस्त, दुर्गन्ध र किरा–लामखुट्टेले स्थानीय हैरान

<span class='c1'>विराटनगर–११ मा नाला अस्तव्यस्त, दुर्गन्ध</span> <span class='c2'>र किरा–लामखुट्टेले स्थानीय हैरान</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ अन्तर्गत बुद्धविहार मार्गदेखि दक्षिण र बिकेभिएम स्कुलदेखि नहरको पूर्व तथा पश्चिमपट्टिको नाला अत्यन्तै जीर्ण र अव्यवस्थित बनेको छ। विगतदेखि स्थानीयवासीले पटक–पटक गुनासो गर्दै आए पनि हालसम्म नाला व्यवस्थित रूपमा निर्माण हुन सकेको छैन।

स्थानीय गंगा सहनीका अनुसार नालामा अस्थायी रूपमा पानी बग्ने व्यवस्था भए पनि नियमित सरसफाइ नहुँदा दैनिकीमै समस्या झेल्नुपरेको छ। घर–घरबाट निस्कने फोहोर पानी, शौचालयको पानी तथा अन्य फोहोर नालामै जम्मा हुँदा पानीको बहाव अवरुद्ध भएको छ। यसका कारण घरभित्र किरा, सर्प र लामखुट्टे पस्ने गरेको बताइन्।

स्थानीय बासिन्दा भोला नाथ सुवेदीका अनुसार नालामा सडेको फोहोरका कारण दुर्गन्ध फैलिएको छ, जसले गर्दा आसपास बसोबास गर्नेहरूलाई असुविधा भइरहेको छ। “सरसफाइ नहुँदा पानीमै फोहोर गलेर दुर्गन्ध आउँछ, बस्नै गाह्रो भएको छ,” उनले भने।

स्थानीय व्यवसायीहरू पनि समस्याबाट प्रभावित छन्। उनीहरूका अनुसार वर्षायाममा पानीको निकास नहुँदा पसलभित्र पानी पस्ने गरेको छ, जसले गर्दा सामान भिजेर ठूलो नोक्सानी हुने गरेको छ। “पानी निकास नहुँदा हरेक वर्ष क्षति सहनुपरेको छ,” एक व्यवसायीले गुनासो गरे।

स्थानीयले पटक–पटक वडा अध्यक्षलाई जानकारी गराए पनि ठूलो बजेट आवश्यक पर्ने भन्दै महानगरसँग पहल भइरहेको आश्वासन मात्र पाएको बताउँछन्। यद्यपि, निर्माण कार्य समय लागे पनि तत्काल सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ।

वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले नाला निर्माण रोकिनुको मुख्य कारण बजेट अभाव रहेको बताए। उनले हरेक वर्ष सरसफाइ हुँदै आएको भए पनि केही महिनादेखि रोकिएको स्वीकार गरे। “फागुन–चैतभित्र सबै सरसफाइको काम सम्पन्न हुन्छ,” उनले भने। साथै, स्थानीयलाई जथाभावी फोहोर नफाल्न आग्रह पनि गरे।

स्थानीयका अनुसार करिब पाँच वर्षअघि जनपथ चोक रजत टोल विकास संस्थाले महानगरसँगको समन्वयमा २८३ मिटर नाला निर्माण गरेको थियो। तर नियमित सरसफाइ नहुँदा अहिले नाला पूरै फोहोरले ढाकिएको छ। नहरको पश्चिमपट्टि महानगरले केही मिटर नाला निर्माण गरिदिए पनि विवादका कारण काम अधुरै रहेको छ। यसकै कारण विकेभिएम स्कुलका विद्यार्थीहरूले समेत फोहोर त्यही नालामा फाल्ने गरेको स्थानीयको आरोप छ।

नाला र नहरबीचको बाटो समेत धुलोमय हुँदै गएको छ, जसले गर्दा पसल सञ्चालन गरिरहेका व्यवसायीलाई दैनिक समस्या भोग्नुपरेको छ। स्थानीयवासीले तत्काल नालाको सरसफाइ र सडकमा पानी हाल्ने व्यवस्था गर्न महानगरसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्