काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
उनले भने, ‘नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुन्थ्यो । नेपालको प्रजातन्त्र आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका स्वर्गीय दाहाल वि.सं. २०५६ को निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सदस्यमा निर्वाचित हुनु भएको थियो । दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।’
८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ओखलढुंगा जिल्लाका रामपुरमा जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता तथा पूर्व कृषिमन्त्री पनि थिए । उनको योगदान नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा अविस्मरणीय छ ।