विराटनगर । सिटी सफारी सेवालाई सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा सञ्चालन भइरहेको “सुरक्षित चालक” अभियान अन्तर्गत चालकहरूलाई पोशाक वितरण गरिएको छ।
अभियानको चौथो चरणमा “सुरक्षित चालक” कार्यक्रममा दर्ता भएका ३०० जना सिटी सफारी चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग र जिम्मेवार सवारी सञ्चालनसम्बन्धी जानकारी प्रदान गर्दै ज्याकेट वितरण गरिएको हो।
कार्यक्रममार्फत चालकहरूलाई सडक सुरक्षाको महत्वबारे सचेत गराउँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको ट्राफिक प्रहरीले जनाएको छ।
यस अभियानले सिटी सफारी सेवामा सुधार ल्याउने र यात्रुहरूको सुरक्षामा थप योगदान पुग्ने विश्वास गरिएको छ।