काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभाग स्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो ।
अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिएकी थिइन् । विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरूको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवरणहरूको स्वतः वितरणका विषयमा कार्यवाहक डंगोलले जानकारी माग गरिन् । त्यस क्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिका विषयमा जानकारी गराउँदै यस अघि तयार र सञ्चालन गरिएका प्रणालीलाई एकीकृत गराउने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा इहाजिरी कार्यान्वयन गर्ने, सिसिटिभी जडान, इहाजिरी, इशिफारिस, ई टिप्पणीलाई प्रभावकारी कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गरिन् ।
महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी गराएकी थिइन् । जग्गा प्रशासन कार्यान्वयन चरणमा छ । घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुनेछ चरणमा छ । त्यस क्रममा सूचना प्रविधि अधिकृत माधव खनालले, सफ्टवेयर डिभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेका कामका विषयमा जानकारी गरएका थिए ।