गणतन्त्रपछि भाग्यमानी मधेश : पहिलो राष्ट्रपतिदेखि, उपसभामुख रुबिसम्म

<span class='c1'>गणतन्त्रपछि भाग्यमानी मधेश :</span> <span class='c2'>पहिलो राष्ट्रपतिदेखि, उपसभामुख रुबिसम्म</span>

सोनु कु. साह
विराटनगर । नेपालमा गणतन्त्र स्थापनापछिको राजनीति बहुआयामिक र विविधतायुक्त छ । विशेषगरी मधेश प्रदेशले देशको राजनीतिक दिशा निर्धारणमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मधेश सदियौंदेखि नेपालको राजनीतिमा अग्रस्थानमा रहँदै आएको क्षेत्र हो। २०१५ सालको पहिलो आमनिर्वाचन होस् वा २०८२ को आम निर्वाचन—मधेश सधैं राजनीतिको मुख्य केन्द्रबिन्दुका रूपमा स्थापित रह्यो। देशका साना राजनीतिक दलदेखि ठूला दलसम्मले निर्वाचनका बेला मधेशबाट ठूलो आशा राख्ने र विश्वास गर्ने गरेका छन्।

पछिल्लो समय मधेशको राजनीतिमा नयाँ तरंग पनि देखिएको छ। स्वतन्त्र धारबाट उदाएका बालेन्द्र शाह (बालेन) ले देशभर जस्तै मधेशमा पनि राजनीतिक बहस र चेतनामा नयाँ उथलपुथल ल्याएका थिए। उनको उदयले परम्परागत राजनीतिक संरचनामा परिवर्तनको संकेत दिएको थियो, जसको प्रभाव मधेशमा पनि देखिएको थियो।

यसैबीच, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि मधेशमा नयाँ आशा थप्ने काम गर्‍यो। पार्टी अध्यक्ष साम्पाङकै निर्णयअनुसार धनुषाकी रुबी ठाकुरलाई समानुपातिक सांसद हुँदै उपसभामुख पदमा विजयी गराउँदा मधेशमा थप उत्साह सिर्जना गर्‍यो। गणतन्त्र स्थापनापछि मधेशले राष्ट्रको उच्च पदहरूमा महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ। पहिलो संविधानसभा निर्वाचनपछि देशको पहिलो राष्ट्रपति मधेशबाट डा.रामवरण यादव र उपराष्टपति पनि परमानन्द झा मधेशबाटै निर्वाचित भएका थिए । हुन त नेपालमा २०१६ सालमा महेन्द्र नारायण निधि पहिलो उपसभामुख बनेका थिए। त्यसपछि महन्थ ठाकुर, रामविलास यादव, चित्रलेखा यादव र गंगा प्रसाद यादव जस्ता नेताहरूले पनि मधेशको प्रतिनिधित्व गर्दै उक्त पद सम्हाले। अहिले राजनीतिक दल र नेतृत्वमा परिवर्तन भइरहेका बेला मधेशबाटै एक नयाँ ऊर्जाशील र प्रेरणादायी अनुहार उदाएको छ–रुबी ठाकुर।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया गाउँकी २५ वर्षीया रुबी अहिले संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भई देशभर चर्चाको केन्द्रमा छिन्। २७ चैत २०८२ मा उपसभामुखमा निर्वाचित भएसँगै उनले नेपालको संसदीय इतिहासमा सबैभन्दा कम उमेरमा यो पद सम्हाल्ने कीर्तिमान कायम गरेकी छन्।

साधारण परिवार, असाधारण सपना
रुबीको जन्म अत्यन्तै साधारण परिवारमा भएको हो। उनका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा श्रम गर्थे भने आमा रेणु देवी ठाकुर गृहिणीका साथै खेतबारीमा काम गर्ने गर्थिन्। चार दिदीबहिनी र दुई भाइ रहेको ठूलो परिवारको आर्थिक अवस्था कमजोर थियो। बाबुको विदेशबाट आएको कमाइ र आमाको पसिनाले परिवार चलिरहेको थियो। मुजेलियाको सानो घर—जुन केवल ४ धुर जमिनमा बनेको छ—आज देशभर चर्चामा छ। बाहिरबाट हेर्दा सामान्य देखिने यही घरभित्र हुर्किएकी छिन् रुबी, जसले आज देशको उच्च राजनीतिक पदमा पुगेर इतिहास रचेकी छन्।

शिक्षादेखि संघर्षसम्म
रुबी सानैदेखि पढाइप्रति लगनशील थिइन्। उनले २०७४ सालमा स्थानीय विद्यालयबाट एसइई उत्तीर्ण गरिन्। त्यसपछि उनले सर्लाहीस्थित बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरिन्। गाउँबाट टाढा गएर पढ्ने उनको निर्णय सजिलो थिएन। समाजमा छोरीलाई बाहिर पठाउने विषयमा विभिन्न आलोचना भए पनि आमाले उनलाई साथ दिइन्। पढाइ पूरा गरेपछि उनले एक आर्किटेक्चर कन्सल्टेन्सीमा काम सुरु गरिन्। त्यहाँ उनले नक्सा बनाउने, डिजाइन गर्ने जस्ता प्राविधिक काम गरिन्। मासिक करिब २० हजार रुपैयाँ आम्दानीबाट उनले आफ्नो खर्च मात्र होइन, भाइबहिनीको पढाइमा पनि सहयोग गरिन्।

राजनीति प्रवेश प्रेरणाबाट नेतृत्वसम्म
रुबीको राजनीति यात्रा कुनै पारिवारिक विरासतबाट सुरु भएको होइन। सामाजिक सञ्जालमार्फत हर्क साम्पाङको कामबाट प्रभावित हुँदै उनी राजनीतितर्फ आकर्षित भएकी थिइन्। साम्पाङको ‘काम गर्ने नेता’को छवि, स्पष्ट सोच र जनताप्रतिको प्रतिबद्धताले उनलाई गहिरो प्रभाव पार्यो। चुनावी अभियानका क्रममा जब हर्क साम्पाङ धनुषा पुगे, रुबी पहिलो पटक उनलाई भेट्न गइन्। त्यो भेट केवल एक औपचारिक भेट मात्र रहेन, बरु उनको जीवनको मोड बन्न पुग्यो। त्यसपछि उनी सक्रिय रूपमा चुनावी अभियानमा जुटिन्—घरदैलो कार्यक्रम, मतदातासँग संवाद र जनचेतनामूलक गतिविधिमा उनी अग्रपंक्तिमा देखिइन्।

सांसददेखि उपसभामुखसम्म
श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला क्लस्टरअन्तर्गत समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो। २०८२ को आम निर्वाचनबाट उनी संघीय सांसद बन्न सफल भइन्। राजनीतिमा नयाँ भए पनि उनको सक्रियता र लोकप्रियताले उनलाई छोटो समयमै उच्च स्थानमा पुर्यायो। विभिन्न राजनीतिक दलहरूको समर्थन र गठबन्धन समीकरणबीच उनी उपसभामुख पदकी उम्मेदवार बनिन् र अन्ततः २७ चैत २०८२ मा निर्वाचित भइन्। यससँगै उनी नेपालको संसदीय इतिहासमा सबैभन्दा कम उमेरकी उपसभामुख बन्न सफल भइन्।

परिवारको गर्व र गाउँको उत्सव
रुबी सासंद बनेको खबर सुन्दा उनका बुबा साउदी अरबमै थिए। त्यहाँ रहेका नेपालीहरूले बधाई दिँदा उनलाई गर्व लागेको थियो। छोरीको सफलतापछि उनी वैदेशिक रोजगारी छाडेर घर फर्किएका छन्। उनकी आमा रेणु देवी ठाकुर अझै पनि खेतबारीमा काम गर्छिन्। ‘सांसद’ वा ‘उपसभामुख’ पदको औपचारिक अर्थ थाहा नभए पनि छोरीले ठूलो काम गरेकी छिन् भन्नेमा उनी गर्व गर्छिन्। गाउँका मानिसहरू र जनकपुरबासीहरू अहिले रुबीको सफलतालाई उत्सवका रूपमा मनाइरहेका छन्। सानो घर र अभावका बीचबाट देशको नीति निर्माण तहसम्म पुग्नु आफैंमा एउटा प्रेरणादायी कथा बनेको छ।

सामाजिक परिवर्तनको एजेन्डा
रुबीले मधेशमा रहेको पछौटेपन, विभेद, महिला हिंसा, दाइजो प्रथा र बालविवाहजस्ता समस्याविरुद्ध काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएकी छन्। उनी भन्छिन्—राजनीति केवल पदका लागि होइन, परिवर्तनका लागि हुनुपर्छ। उनले चुनावअघि कुनै पनि दलमा सक्रिय भूमिका नखेले पनि समाजमा देखिएको अन्याय र विभेद हटाउने दृढ इच्छा बोकेकी थिइन्। अहिले त्यो इच्छा नीतिगत तहबाट कार्यान्वयन गर्ने अवसर उनले पाएकी छन्।

भविष्यको योजना
हाल २५ वर्षीया रुबी अविवाहित छिन्। उनी राजनीतिसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहन्छिन्। इन्जिनियरिङ ९बीई० अध्ययन गर्ने उनको लक्ष्य छ। शिक्षा र नेतृत्वलाई सँगसँगै अघि बढाउने उनको योजना छ।

एउटा सन्देश
रुबी ठाकुरको कथा केवल एक व्यक्तिको सफलता होइन, यो सम्भावनाको कथा हो। यो कथा हो—साधारण परिवारबाट असाधारण उचाइमा पुग्न सकिन्छ भन्ने विश्वासको। मुजेलियाको ४ धुर जमिनमा बनेको सानो घरले आज सिंगो देशलाई सन्देश दिएको छ । “सपना देख्नका लागि ठूलो घर होइन, ठूलो सोच चाहिन्छ।”नयाँ पुस्ता पनि राजनितिमा पनि योग्य खोज्दै छन । कुनै समुदाय वा जातिवाद होईन भन्ने अहिलेको राजनिती प्ररिणामले प्रष्ट पारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्