निर्वाचनबाट राजनीतिक दलको आफ्नो हैसियत कायम हुनु लोकतन्त्रमा सामान्य कुरा हो । दलका आफ्ना एजेन्डा मात्रै नभई जनमत पाएर परीक्षण हुँदा गरेका कामको मूल्यांकन नागरिकले निर्वाचनमा गर्दछन् । त्यसैले त आवधिक निर्वाचन दलका लागि परीक्षा र नागरिक यो परीक्षाका गार्ड हुन्छन् । जुन म्याद दिएर नागरिकले दलहरुलाई निर्वाचित गरेका हुन्छन्, त्यो म्याद दलहरुका लागि नागरिकले दिएको होमवर्क गर्नलाई हो । होमवर्कमा उत्कृष्ट नभई कक्षामा उत्कृष्ट हुन संभव छैन । कक्षामा सालाखाला भइसकेपछि परीक्षामा अंक आउने संभावना चीट चोर्दा मात्रै हुन्छ । चीट चोर्नपनि ज्ञान नै चाहिन्छ । ज्ञान भरिन पनि शिक्षा ।
प्रसङ्गमा प्रवेश गर्नुभन्दा अगाडी यति कुरा लेखिसकेपछि एउटा घटना उल्लेख गर्न मन लाग्यो । जेनजी आन्दोलन सकिएर अन्तरिम सरकार गठन भएपछि आफैंसँग जोडिएको सन्दर्भ ।
मेरा एकजना सहरीया जानपहिचान मित्र, जसले जेनजी आन्दोलनलाई बेस्कन समर्थन गरिरहेका थिए । उनको बुझाई थियो, पुराना दलहरुले देश भुर्कुट नै पारेका छन्, कानुन मान्दैनन, तिनका झोलेहरुको राँईदाई छ । यति भनिसकेपछि उनले थपे–झन् यो देशमा पत्रकारको त कुरै छोडौं, साँच्चै भन्ने हो भने देश नै बिग्रिया यिनले गर्दा नै हो !
मेरा अगाडी जसले आफ्नो कुरा राखिरहेको थियो, मैले चुपचाप सुनिरहेको थिएँ । सुनिनै रहें, खासै सवाल–जवाफ मन लागेन । जब घर फर्किएँ । अनि मोवाइलको म्यासेज खोलेर हेर्न थालें । हेर्दै जाँदा जसले मलाई राजनीतिक दलसँग समेत जोडेर देश बिगार्ने, कानुन नमान्ने भन्नुभयो, उहाँका नाममा दशवटा कानुन उल्लंघन गरेका घटनामा जोगाईदिन सिफारिस गरेको भेटे । जसले बारम्बार कानुन उल्लंघन गरेवापत जोगाईदिने सिफारिसकर्ता बनेको थिएँ, उसैले मलाई मेरै मुखन्जेल त्यति भनेको कुराले मलाई अरु केहि पारेन, जम्मा पार्यो छक्क !
उनको बुझाई थिएछ, पत्रकारले भनेपछि सबैले मान्ने । अनि हामीले कानुन उल्लंघन गरिहाल्यौं भने बाँध्ने ? सायद उनकोे भित्री पक्ष कानुन उल्लंघन गर्न सबैले पाउनुपर्छ अर्थात पैसा कमाएर बनिए भनिएका दलका नेताझैं आफूहरुले पनि गर्न पाउनुपर्छ । त्यो बुझाई निर्वाचनपछि अहिले सर्लक्क सरेर पनि आएको छ । जसले हिजोको झोले प्रवृत्तिलाई अहिले गोबर भरिएको बोरे प्रवृत्तिमा विकास गरिरहेको देखिन्छ ।
देशमा बालेन्द्र साह प्रधानमन्त्री भएको यो छोटो अवधी हेर्दा लाग्छ, नयाँ सांसदहरुले पुरानाले गरेजस्तै गर्न पाउनुपर्छ भनेजस्तो गरिराछन् । जेनजी आन्दोलनको आधार त रास्वपाको हैन । तर, रास्वपा जेनजी आन्दोलनको ब्याज उपयोगकर्ता हो । त्यो पार्टीसँग एकता गरेका बालेन साह प्रधानमन्त्री छन् । साहले अहिलेसम्म रास्वपा चिनिरहेका छैनन् । उनले चिनिरहेका छन्, स्वयं आफैंलाई अनि गरिरहेका छन् आफ्नो काम । उनलाई आफूले जे गरेपनि हुन्छ भन्ने भान परिरहेको छ । जसलाई नागरिकको समर्थन पर्याप्त देखिन्छ । राम्रो वा नराम्रो जे गरेपनि समर्थन गरेर गलतको समेत सकारात्मक भाष्य बनाउने नागरिकको मनोविज्ञान अचम्म लाग्दो छ । संसदीय मर्यादाको ख्याल छैन, संसदमा सम्बोधन छैन, नागरिकका लागि एक शब्द बोल्न चाहेका छैनन् । त्यहि पनि प्रधानमन्त्री बालेन साह पर्याप्त समर्थनमा छन् ।
तर, त्यो पर्याप्त समर्थनले उनको देवत्वकरण मात्रै गरिरहेको छ । आलोचना छैन । जब राजनीतिक चेत नागरिकमा छैन भने, त्यो समर्थन ‘हावादारी’ दृष्टिकोणमा आधारित मात्रै हुन्छ । अर्थात् घोडा डोहो¥याउँदा सिधा बाटो देखिने गरी बाँधिएको साङ्लो हुन्छ । दाँयाबाँया नहेरी बालेनलाई भइरहेको समर्थन हिजो कुनैबेला केपी शर्मा ओलीलाई पनि थियो । जुन तानिएको घोडा जस्तो सिधा हेर्ने बाहेक दायाँबाँया थिएन ।
यतिसम्मकी केपी ओलीको विरोधमा कसैले एक वाक्य लेख्दा नागरिकले राष्ट्रघाति बनाइदिन्थे । त्यो दृष्टिकोण भएका नागरिकको समर्थनलाई एमालेले पूँजी मान्यो । अनि कार्यकर्ताले त्यसलाई अरु राजनीतिक दल खुँइल्याउने एजेन्डा बनाउन प्रयोग गरेको सत्य लुकेको छैन । एमालेका कार्यकर्ता आन्तरिक रुपमा राजनीतिक चेत भएका हुन्थे । पार्टी नेतृत्वको आलोचना आन्तरिक गर्दथे बाहिर भने नागरिकले राखेको दृष्टिकोणका आधारमै आफ्ना धारणा सार्वजानिक गर्दथे । जसले तत्कालिन एमाले र माओवादीबीचको एकता भङ्ग गरिदिन आन्तरिक रुपमा ठूलो बल पुगेको थियो । तर, त्यो समर्थन र बल जेनजी आन्दोलनसँगै ध्वस्त बनेर गयो ।
यदि राजनीतिक चेत बिना कुनै नागरिक कसैलाई समर्थन गर्दछ भने त्यो अस्थायी नै हुन्छ । उसले पार्टी राजनीतिक बुझेको पनि छैन । हल्लाका भरमा आफ्नो समर्थन जनाई दिने अनि समर्थन दिएका व्यक्तिलाई देवत्वकरण गरिदिने गर्दछन् । जब घोडा खुस्किन्छ अनि चारतिर दौडन्छ, नियन्त्रण लिन सहज हुन्न नि राजनीतिक चेतबिनाको समर्थन यहि हो । राजनीतिक चेत भएको स्थितिको पनि रफ्तार त यस्तै देखिन्छ तर दृढता हारमा पनि भेटिन्छ । तर, अलिक स्वतन्त्र भनिएका नागरिकमा हुने मनोदसा चाँहि स्वतन्त्रका नाममा हल्लालाई विचार मान्ने अनि आधारबिना अर्कामाथि खनिने देखिन्छ । त्यसबाहेक राजनीतिक दलमा आवद्ध हुने तर त्यो आवद्धता स्वार्थका लागि मात्रै केन्द्रीत गर्ने अर्को अवसरवादी मनोदसा हुन्छ । सबै अवसरमा आफ्नो पहुँच स्थापीत गरिदिने, असजिलोमा मौन बसिदिने । यो अर्को गम्भीर प्रकृतिको छलछाम पनि अहिले रास्वपामा बढेको छ । त्यो पनि हिजो झोले प्रवृत्तिमा देखिएर अहिले स्थान्तरण भएकाहरुमा नै धेरै छ ।
हिजो पुराना दलहरुले केहि गर्न नसकेको भन्ने भाष्य अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्ले आफैंले खण्डन गरिदिईसकेका छन् । जति हुनुपर्ने हो, त्यति नगरेको कुरा कसैलाई लुकाई रहनु पर्दैन थियो । जति भएको छ, त्यसलाई समेत नभएको देखाएर राजनीतिमा उछाल ल्याउने जुन काम भएको थियो अहिले त्यसलाई जोगाउन मुस्किल देखिरहेको छु । नेतृत्वलाई देवत्वकरण गरेका नागरिकपनि एक वर्षा सहन्छन्, अर्को हिउँदमा बिरक्तिन्छन् अनि गर्मी लागेपछि दिक्क मान्दछन् । त्यसपछिको वर्षात लागेपछि धारे हात लगाउने हुँदै उनीहरुले सरकार र त्यो राजनीतिक दलप्रतिको परिवर्तित धारणा बनाउँछन् । त्यसपछि पुरानोको राग नयाँमा देख्न थाल्छन् । भएगरेका सबै कामलाई गोलमटोल गरेर व्याख्या गर्दछन् । यो प्रवृत्ति चाँहि खास टुङ्गोमा नपुग्ने झोले प्रवृत्तिजस्तो बनेर जहिल्यै हल्लामा समर्थन गर्नेहरुमा देखिने गरेको पाइन्छ ।