नागरिकले ठूलो आसा राखेर परिवर्तनको दियोको रुपमा हेरेको वर्तमान सरकारका सयदिन पारपछिको साशन चलिरहेको छ । सरकारको कार्यसम्पादनमा नागरिक विश्वस्त पनि देखिन्छन् । तर, अविश्वास गर्नेको संख्या पनि बढ्दो छ । सरकारले नाराबाट परिवर्तन जित्न सकेपनि शासनबाट यसको पूर्णता दिएला भन्ने कुरामा आशंका समेत उतिकै उब्जिएका छन् । हुन त अहिले नै अविश्वास बढाइहाल्न उचित नहोला । तरपनि चुनावबाट पाएको शासनको वैधता, कार्यसम्पादन मूल्यांकनबाट परीक्षण गर्दा कमजोर अंकउन्मुख बन्दैछ । नागरिकले अझै समय दिन सक्लान, तर सरकारले यसलाई असीमित मान्ने अवस्था छैन ।
लोकतन्त्रमा सबैभन्दा कठोर फैसला अदालतले होइन, जनताले दिन्छन् । जनताले दिने पैmसला मतपेटिकामा मात्रै देखिएर हुँदैन, जनविश्वासमा पनि उतिकै सावित हुनुपर्दछ । सरकारको नियत, प्राथमिकता र कार्यशैली बुझ्न नागरिकका लागि पर्याप्त समय नै सय दिन हो । नागरिकले परिणामको प्रतिक्षा गरिरहेका छन्, शासक मात्रै फेरिएकोप्रति लामो समयसम्म गर्भ महसुन नगर्लान् । पुरानो राजनीतिक संस्कृतिको अन्त्य नागरिक चाहन्छन् । सुशासन, भ्रष्टाचार अन्त्य, चुस्त प्रशासन, आर्थिक चलायमानता, रोजगारी सिर्जना र नागरिकको सम्मानपूर्ण जीवन यो सरकारको मुख्य बाचा हो । तर, बजारको सुस्तता, उद्योगी–व्यवसायीमा निराशा, युवा पलायनको निरन्तरता र महंगीले जीवनयापनका लागि सिर्जित अस्तव्यस्ता ले सरकारको गति नागरिक अपेक्षा अनुरुप देखिएको छैन ।
सबैभन्दा चिन्ताजनक पक्ष समाजमा बढ्दो निराशा हो । पछिल्ला दिनमा भएका आत्मदाहका घटनाले केवल केही व्यक्तिको मृत्युको कथा सुनाएका छैनन्, तिनले राज्य र समाजप्रतिको गहिरिँदो असन्तुष्टिको संकेत पनि दिएका छन् । सरकारले यस्ता घटनालाई केवल व्यक्तिगत त्रासदीका रूपमा होइन, सामाजिक चेतावनीका रूपमा पनि लिनुपर्छ । तर, सरकार गणेश नेपाली वा विवेक मण्डलको आत्मदाहलाई सुशासनको अवरोधको रुपमा हेरिरहेको छ । अर्थात् उनीहरुले गरेको आत्मदाह, राज्यलाई असजिलो बनाउने कारणबाट सिर्जित घटना मात्रै हो भन्ने बुझाईमा देखिन्छ । त्यसैले घटनाको परिवेश बदलिदिनुपर्ने दवाव सञ्चारमाध्यममाथि घुमाउरो पारामा दिएको आशंका छ ।
तर, नागरिकको आत्मदाह व्यक्तिको जीवन समाप्ति मात्रै हैन, यो सरकारमाथि सामाजिक दवाव समेत हो । त्यसैले उनीहरुमाथि न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता बनोस् । लोकतन्त्रमा नागरिकका असन्तुष्टि जुनसुकै बेला पनि पोखिन सक्छन् भन्ने हेक्का सरकारले राख्नुपर्ने हुन्छ । लोकतन्त्रमा आलोचना असहज हुन सक्छ । असहज प्रश्नबाट भाग्ने सरकार अन्ततः आफ्नै बाचाबाट पन्सिरहेको हुन्छ ।
अन्त्यमा पुराना दलहरु र उनीहरुको संस्कृतिलाई दोष देखाएर सरकार सफल हुनसक्दैन । असफलताको सूची दोहो¥याएर वर्तमान सरकारले जिम्मेवारीपनबाट हलुको हुन खोज्नु गलत हुनेछ । नयाँ अभ्यास स्थापीत गर्दै देश समृद्धिमा लैजाने जिम्मेवारी पूरा गर्नुपर्दछ । नागरिकले चमत्कार मागेका हैनन्, स्पष्ट दिशा र विश्वास दिलाउन कार्यसम्पादन मात्रै खोजेका हुन् भन्ने कुरा बुझिदिएपुग्छ ।