विराटनगर । चीनमा निकासी भइरहेको छालाको लागि सरकार आवश्यक सहयोग र सहजीकरण नगरेपछि त्यसको असर नेपाली छाला उद्योगमा परेको छ । तीन महिनायता चीनमा नेपालबाट छाला निकासी रोकिएको हो । सरकारले छाला उद्योगले प्रदूषण गरेको भन्दै सहयोग र सहजीकरणमा आलटाल गर्दै आएको हो । यसका कारण निर्यात पनि प्रभावित भएको हो । रास्वपाको सरकारमा दोस्रो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेकी गौरीकुमार यादवको निर्देशनमा यस्तो गरिएको थियो । चीन सरकारले त्यहाँ भित्रने खाद्यपदार्थ, सौन्दर्यसामग्री, कृषिजन्य वस्तु, जडीबुटी र पशुपन्छीजन्य उत्पादनका लागि निर्यातकर्ता उद्योग वा कम्पनी त्यहाँको जीएसीसीमा अनिवार्य दर्ता हुनुपर्ने नियम लगाएको छ ।
जीएसीसीमा दर्ता नभएका उद्योग वा कम्पनीले निर्यात गर्न पाउँछन् तर नेपालका सामग्रीमा चीन सरकारले दिएको ट्यारिफ सुविधाको उपभोग गर्न पाउँदैनन् । चीनको जेनरल एडमिनिस्ट्रेसन अफ कस्टम्स अफ चाइनालाई नै जीएसीसी भन्ने गरिन्छ । यस निकायले चीनमा आयात निर्यातको नियमन गर्दछ । नेपालका उद्योगीले त्यहाँ निर्यात गर्न यही जीएसीसीको अनलाइन सिस्टममा निर्यात विवरण भएको फाराम अपलोड गर्नुपर्छ । यसरी जीएसीसी फाराम नभरेका उद्योग वा कम्पनीले परम्परागत उत्पत्तिको प्रमाणपत्र (सीओ) जारी गरेर निर्यात त गर्न पाउँछन् तर ट्यारिफ छुटको सुविधा लिन पाउँदैनन् ।
उद्योग मन्त्रालय र उद्योग विभागले जीएसीसी फारामका विषयमा उद्योगीलाई सहजीकरण नगर्दा उद्योगी निर्यातबाट वंचित भएका हुन् । चीन सरकारले नेपालबाट त्यहाँ पुग्ने वेट ब्लु र क्रस्ट छालामा ६ देखि १४ प्रतिशतको ट्यारिफ लगाएको छ । चीनमा जीएसीसी फाराम बिना उत्पत्तिको प्रमाणपत्र (सीओ) मात्र जारी गरेर निर्यात गर्दा उक्त ट्यारिफ तिर्नुपर्छ । नेपाल छाला उत्पादक संघका उपाध्यक्ष एवम् वीरगंजको मरियम लेदर इन्डस्ट्रिजका संचालक फारुक जमाल कुरेसीले उद्योग विभागले तीन महिनादेखि जीएसीसी फारामको सिफारिस नदिएको बताए ।
उद्योगी फारुकले छालाको निर्यात घट्तै गइरहेका बेला सरकारले पनि सहयोग नगर्दा उद्योगी समस्यामा परेको गुनासो गरे । फारुकका अनुसार नेपालबाट सामान्यतया वेट ब्लु, क्रस्ट र फिनिस्ड गरी तीन प्रकारकै छालाको निर्यात हुने गर्दछ । त्यसमा पनि धेरैजसो वेट ब्लु र क्रस्ट छालाको निर्यात बढी हुन्छ ।
भन्सार विभागले नेपालबाट चीनमा वार्षिक ५० करोड सम्मको छाला निर्यात हुने जनाएको छ । तर उद्योग विभागले जीएसीसीमा दर्ता हुन सिफारिस नगर्ने हो भने यस्तो निर्यात शून्य हुने उद्योगीको भनाइ छ । चालु आर्थिक वर्षको साउनयता नेपालबाट चीनमा कुनै पनि प्रकारको छाला निर्यात नभएको विभागले जानकारी दिएको छ । नेपालमा छालाका ८ वटा निर्यातमूलक उद्योग छन् ।