विराटनगर । भारतले खानेतेलको कच्चा तथा तयारी तेल आयात गर्दा लाग्ने महशुल घटाएपछि नेपाली उद्योगी असजिलोमा परेका छन् । भारतले मंहगी नियन्त्रण गर्न लिएको नीतिले नेपालबाट तेल निर्यात गरिरहेका उद्योगीहरु प्रतिस्पर्धी बन्न नसक्ने स्थितिमा पुगका हुन् । जसले गर्दा भारतीय बजारमा निर्यात भएर पुग्ने खानेतेल अब रोकिने अवस्थामा पुगेको छ ।
तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल नेपाली उद्योगीले भारत निर्यात गर्दै आएका थिए । नेपाली उद्योगीलाई भारतको एउटा निर्णयले ठूलो असर पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । उद्योगीहरुले भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा गरिएको परिवर्तनले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने दावी गरेका छन् ।
कच्चा आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन् । तर, त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन् । साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात शून्य प्रतिशत भन्सार महसुलमा भइरहेको छ । यो सहुलियत पाइरहेका उद्योगीका लागि भारतले कच्चातेलको महसुल १६.५ बाट ११.५ मा झारेपछि भने प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेको पशुपति खाद्य तेल उद्योग प्रा.लि. निर्देशक अमित शारडाले बताए । उनका अनुसार प्रतिस्पर्धा गर्न नसक्ने स्थिति हुँदा उत्पादन नै ३० प्रतिशतमा झर्नसक्नेछ । जसको असर रोजगारीमा समेत पर्नेछ । भारतमा यस अगाडी १६.५ प्रतिशत कच्चातेलको आयात महसुल रहेको थियो । त्यहि दर हुँदा समेत नेपालबाट निर्यातमा असर थियो, उद्योगी शारडाले भने–उनीहरुले क्रुड आयल धेरै खरिद गर्ने क्षमत राख्छन् कम मूल्यमा पाउँछन्, ढुवानी उनीहरुको लागि बहुविकल्प र सस्तो छ । नेपालमा ढुवानी खर्च बढी पर्दछ ।
भारतमा महंगी बढेपछि नागरिकलाई राहत दिनका लागि पाँच प्रकारका तेलको महसुल घटाएको हो । उद्योगी शारडाका अनुसार बुधबार यसको जानकारी सरकारले दिइसकेको छ । क्वालिटी रिफाइनरीका तेल उद्योगका सञ्चालक विपीन काबराका अनुसार भारतमा आएको आयात महशुलको फेरबदलले नेपालको निर्यात प्रणालीसहित अन्य बहुक्षेत्रमा पर्नेछ । भारतले पाँच प्रकारको तेलको महसुल घटाउँदा भटमास र पामको कच्चातेलको ५ प्रतिशत कमी हुँदै ११.५ मा झारेको छ । सूर्यमुखीको कच्तातेलको महसुल १० प्रतिशत कम गर्दै ५.५ मा झारेको छ । काबराका अनुसार नेपालमा भटमास, पाम र सूर्यमुखीको क्रुड आयालको महसुल १० प्रतिशत छ ।
नेपालमा कच्चा आयात गरेर तयारी तेल निर्यात गरिन्थ्यो । भारतले तयारी भटमासको तेलको महसुल समेत ३७.७५ बाट ३०.२५, सूर्यमुखीको ३५.८५ बाट २४.७५ र तयारी पामतेलको ३५.७५ बाट ३०.२५ प्रतिशत बनाएको छ । पशुपति खाद्य तेल उद्योगका सञ्चालक शारडाले भने यो सरकारीस्तरको पहलबाट समेत समाधान नहुने विषय भएको बताएका छन् । उनका अनुसार नेपालका उद्योगले साफ्टा सुविधा पाइरहेका छन्, भारत सरकारले त्यहाँको महंगी नियन्त्रण गर्न आयात शुल्क घटाइदिएको हो । त्यसैले यहाँ पाउनुपर्ने थप कुनै सुविधा माग्ने ठाउँ छैन भने, भारत सरकारलाई महशुल बढाउन अनुरोध गर्ने कुरा पनि हुनसक्दैन । आर्थिक वर्ष २०८२÷२०८३ मा नेपालबाट एक खर्च ४६ अर्ब रुपिँया भन्दा बढी मूल्यको प्रशोधित खानेतेल (पाम, भटमास र सूर्यमुखी) निर्यात भएको तथ्यांक छ ।