विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा चाड पर्व मनाउने वातावरण सृजना गर्न प्रदेशभरी ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
चाडपर्वको समयमा यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै यात्राका क्रममा आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न कोशी प्रदेशका १४ वटै जिल्ला स्थित रहेका बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानहरुका ७२ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । सीमानाकाहरुमा पटका जन्य बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा संकास्पद एरिया इलाकाहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ ।
मानिसको बढी भिडभाड हुने स्थान, चोक बजारहरुमा सिसी टिभीको निगरानी तथा आवश्यकता अनुसार ड्रोन क्यामेरा समेत परिचालन गरी निगरानी बढाई सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको छ ।
यात्रु सहायता कक्ष ः ७२–यात्रुहरूलाई आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा प्रदान गर्न, गुनासो सुनुवाइ गर्न र यात्राका क्रममा हुन सक्ने ठगी तथा अन्य समस्याबाट जोगाउन ।
क्युआरटी ः ४५३ आपराधिक गतिविधि, झैझगडा, दुर्घटना तथा अन्य आकस्मिक घटनामा शीघ्र प्रहरी प्रतिक्रिया र उद्धारका लागि ।
स्ट्राइकिङ ः १५ सुरक्षा संवेदनशील क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानमा शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसार तत्काल परिचालनका लागि ।
ट्राफिकसहित संयुक्त चेकिङ ः १७९ सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण तथा अवैध गतिविधि रोकथामका लागि ।
सीमानाकामा चोरी–तस्करी नियन्त्रण ः ८३ स्थानमा चोरी–तस्करी तथा सीमावर्ती अपराधहरू नियन्त्रण गर्न सीमानाकामा चेकजाँच तथा निगरानीको व्यवस्था ।
मोबाइल गस्ती ः९८, शान्ति सुरक्षा कायम राख्न, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्न गस्ती परिचालन ।
राजमार्ग स्कर्टिङ ः २२, विशिष्ट व्यक्तिहरुको आवागमनलाई सहज बनाउन, चाडपर्वका समयमा यात्रु तथा सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न र राजमार्गमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न ।
पैदल गस्ती ः २१५, बजार, भीडभाडयुक्त क्षेत्र, मेला, जात्रा तथा अन्य संवेदनशील स्थानमा शान्ति सुरक्षा कायम गर्न र चोरी, पाकेटमारी तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न परिचालन।
पिकेट ः५०३ सुरक्षा संवेदनशील क्षेत्र, मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा नियमित निगरानी र सुरक्षा उपस्थिति कायम गर्न ।
धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा ः ५०, चाडपर्वका समयमा धार्मिक स्थल, मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय गन्तव्यहरूमा दर्शनार्थी एवं पर्यटकको सुरक्षित आवागमन सुनिश्चित गर्न, भीड व्यवस्थापन गर्न र चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ।
महत्त्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षा ः ३४, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न तथा अन्य सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने एवं आर्थिक कारोबारका स्थानको सुरक्षाः ५६, आर्थिक कारोबारका स्थानमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आर्थिक अपराध नियन्त्रण गर्न र नागरिकको धनसम्पत्तिको सुरक्षा सुनिश्चित गर्न ।