दशैंमा पनि विराटनगरका व्यापारी निराश, भन्छन्-‘जोगबनी र अनलाइनले खायो व्यापार’

<span class='c1'>दशैंमा पनि विराटनगरका व्यापारी निराश,</span> <span class='c2'>भन्छन्-‘जोगबनी र अनलाइनले खायो व्यापार’</span>

सोनु साह
विराटनगर । नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै बजारमा चहलपहल बढ्ने र व्यापार व्यवसायले गति लिने अपेक्षा गरिन्छ। विशेषगरी दशैं र तिहारको समयमा लत्ताकपडा, शृङ्गार सामग्री, जुत्ता–चप्पल, किराना, पूजापाठका सामग्री तथा फलफूलको कारोबार बढ्ने गर्छ। तर, यस वर्ष दशैंको समयमा पनि विराटनगरका व्यापारीहरूमा उत्साहभन्दा निराशा बढी देखिएको छ।

व्यापारीहरूका अनुसार सोचेअनुसार ग्राहक नआउँदा व्यापार प्रभावित भएको छ। खुला सीमा नाका, नजिकैको भारतीय बजार जोगबनीमा हुने किनमेल र अनलाइन व्यापारका कारण विराटनगरको व्यापारमा असर परेको उनीहरूको गुनासो छ। व्यापारी आयुष सोनीका अनुसार दशैं सुरु भएपनि पसलमा अपेक्षाअनुसार ग्राहक आएका छैनन्। जोगबनी नजिकै भएकाले धेरै ग्राहक किनमेलका लागि उतै जाने गरेको उनले बताए। यद्यपि, आगामी दिनमा व्यापार बढ्ने उनको अपेक्षा छ।

त्यस्तै, व्यापारी आखिफ आलमले अनलाइन व्यापार र जोगबनी बजारका कारण स्थानीय व्यापारमा गिरावट आएको बताए। विगतका वर्षमा दशैंका बेला राम्रो कारोबार हुने गरेको स्मरण गर्दै उनले पछिल्ला केही वर्षदेखि व्यापारमा अपेक्षित सुधार हुन नसकेको बताए। व्यापारी उमेश कुमार राउतले पसलको सङ्ख्या बढ्नु, महँगी र जोगबनी बजारमा किनमेल गर्ने ग्राहकको सङ्ख्या बढ्नु पनि व्यापार घट्नुका कारण रहेको बताए। उनका अनुसार प्रत्येक वर्ष चाडपर्वमा व्यापार बढ्ने आशा गरिए पनि कारोबार निरन्तर घट्दै गएको छ।

व्यापारी राजेश अग्रवालले रेडिमेड पसलको सङ्ख्या बढ्नुका साथै अनलाइन व्यापारले बजारको ठूलो हिस्सा ओगट्दै गएको बताए। भौतिक पसलबाट हुने कारोबार घट्दै गएको उनको भनाइ छ। त्यस्तै, व्यापारी आशिका शाहले अहिलेको व्यापार सन्तोषजनक भए पनि विगतको तुलनामा कमजोर रहेको बताइन्। जोगबनी बजारमा हुने किनमेल र खुला सीमा नाकाका कारण विराटनगरका व्यापारीलाई प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाइ छ।

समग्रमा, दशैंमा व्यापार बढ्ने अपेक्षा गरेका विराटनगरका व्यवसायी अहिले ग्राहकको कमी र बढ्दो प्रतिस्पर्धाका कारण चिन्तित देखिएका छन्। आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशामा व्यापारीहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्