सोनु साह,
विराटनगर । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै मठमन्दिर तथा शक्तिपीठहरूमा श्रद्धा र भक्तिभावका साथ पूजाआजा भइरहेको छ। घटस्थापनादेखि सुरु भएको नवरात्रिमा नौ दिनसम्म देवी भगवतीको पूजा आराधना गरिन्छ भने दसैँको अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। घरदेखि मठमन्दिरसम्म भक्तजनको चहलपहल बढेको छ। नवरात्रिको अवसरमा मन्दिरहरूमा सामूहिक आरती, भजनकीर्तन, गीतसंगीतलगायत कार्यक्रम भइरहेका छन्। यसैक्रममा मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा पनि यस वर्ष धुमधामका साथ पूजापाठ भइरहेको छ।
संसारीमाई मन्दिरमा दैनिक सयौँको संख्यामा भक्तजन पूजाआजाका लागि पुग्ने गरेका छन्। नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत भक्तजन आउने यस मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ।
संसारीमाई मन्दिर पूजा समितिका संयोजक सञ्जीव श्रेष्ठका अनुसार यस वर्षको फूलपाती बढाइँ कार्यक्रम असोज ३१ गते शनिबार बिहान ९ बजे मन्दिर परिसरबाट सुरु हुनेछ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति रहने जनाइएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सलामीसहित फूलपाती बढाइँ कार्यक्रम आयोजना गरिने संयोजक श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहान ९ बजे मन्दिर परिसरबाट बाजागाजासहित फूलपाती निकालिनेछ। त्यसपछि काली मन्दिरमा सलामी अर्पण गर्दै टोली बेलटारीतर्फ प्रस्थान गर्नेछ।
यस वर्ष फूलपाती बढाइँलाई भव्य बनाउन विभिन्न तयारी गरिएको उनले बताए। संयोजक श्रेष्ठले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजनलाई आग्रह गरेका छन्।
उनका अनुसार नवरात्रिभर देश तथा विदेशबाट आउने धार्मिक टोलीहरूको सहभागितामा हरेक साँझ विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। मन्दिरमा बिहान र बेलुका नियमित आरतीसमेत हुँदै आएको छ। यस वर्ष रोड शो तथा विभिन्न जातजातिका सांस्कृतिक नाचगानका कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी दिए। यस वर्ष संसारीमाई मन्दिरमा ११ वटा पूजा आयोजना गरिएको जनाइएको छ। त्यस्तै, यसपटक दुई दिन अष्टमी परेको बताइएको छ। आज पञ्चमीका अवसरमा स्कन्दमाता देवीको पूजा आराधना भइरहेको छ। नवरात्रिको अवसरमा संसारीमाई मन्दिरमा भक्तजनको चहलपहल बढेसँगै धार्मिक आस्था, परम्परा र सांस्कृतिक गतिविधिले रंगेली क्षेत्रलाई उत्सवमय बनाएको छ।