विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा गोली चलाएर गाँजा कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
बिहीबार राति रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न प्रयास गर्दै थिए । उनीहरू भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि चलाइएको गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका हुन्। उनको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको छ।
घटनामा चौधरीसँगै भारतको अररिया जिल्ला, महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्। घाइते चौधरीको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार असोज २९ गते दिउँसो सोही स्थानको बक्राहा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो। त्यस क्षेत्रमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट बिहीबार राति गस्ती टोली परिचालन गरिएको थियो।
राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आएका थिए। उनीहरूबाट बरामद गाँजासहित दुवै पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।