विराटनगर । स्वस्थ जीवनशैलीको प्रवद्र्धन र योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङ महिला पतञ्जली समितिले विराटनगरमा पाँचदिने निःशुल्क योग प्रशिक्षण सुरु गरेको छ । विराटनगर ११ बीकेभीएम स्कुलको खेल मैदानमा शुक्रबार विहानदेखी सुरु भएको प्रशिक्षण मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दिन बिहान ५ बजेदेखि सञ्चालन हुने प्रशिक्षणमा योग साधक, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा हरिद्वारबाट आएकी साध्वी देवादितीको उपस्थिति थियो । महिला पतञ्जली योग समिति नेपालको मुख्य केन्द्र प्रभारीसमेत रहेकी उनले योग अभ्यासलाई दैनिक जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकासमन्त्री तथा पतञ्जली योग समिति नेपालका आजीवन सदस्य भीम पराजुली थिए । कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र बीकेभीएम विद्यालयका प्रधानाध्यापक रविन दाहाल विशेष अतिथिका रूपमा सहभागी थिए ।

मोरङ महिला पतञ्जली समितिकी अध्यक्ष सुची चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिकी केन्द्रीय सदस्य हिरा अधिकारी, कोशी प्रदेश सहप्रभारी गोविन्द खड्का, सचिव शोभा कोइराला, समितिकी निवर्तमान अध्यक्ष लक्ष्मी चौधरी तथा पूर्व अध्यक्षहरू बिनु सापकोटा र ध्रुव तामाङको सहभागिता थियो । कार्यक्रममा निवर्तमान पदाधिकारी सुरेश अग्रवाल पनि उपस्थित थिए ।

प्रशिक्षणमा पतञ्जली योग समितिका चारै तहका पदाधिकारी, सदस्य, योग शिक्षक तथा योग साधक सहभागी छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रशिक्षणले योग अभ्यासको विस्तारसँगै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सर्वसाधारणको चासो बढाउने अपेक्षा आयोजकको छ ।