विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय स्तरमा उत्पादन गरेका सामाग्रीहरुको बिराटनगरमा प्रर्दशनी गरिएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ र समाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को संयुक्त आयोजनामा विराटनगरमा पुस ११ र १२ गते भएको प्रदर्शनीको आईतवार सम्पन्न भएको हो ।
दुई दिनसम्म संचालन भएको प्रदर्शनीमा करिब ५ हजार भन्दा बढीले अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका विभिन्न सामाग्रीको अवलोकन गरेको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतले जानकारी दिए । उनका अनुसार १५ वटा स्टल रहेको प्रदर्शनीमा प्रदेश १ भरीका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरु राखिएको थियो ।
दुई दिनसम्म संचालन भएको प्रदर्शनीमा तीन लाख बढी कारोबार भएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले बताईन । आपाङ्गता भएको व्यक्तिहरु पनि आत्मनिर्भर बन्न सक्छन् र उनीहरुले उत्पादन गरेको प्रत्येक सामाग्रीलाई बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरेको उनको भनाई छ ।
स्थानिय स्तरमा उत्पादन भएका समाग्रीलाई अष्ट्रेलिया, अमेरिकासम्म पु¥याएको बताउने धरानकी प्रतिभा दाहाले कृष्टलका माला, मोतीमालाहरु प्रदर्शनीमा राखेकी थिईन् । प्रदर्शनीमा सहभागिता जनाएका मोरङ सुन्दर हरैँचाका दुर्गा योगीले मुडा, झाडु अगरबत्ती प्रदर्शनीमा राखेका थिए । अपाङ्गता भएका व्यक्तिहरुले स्थानिय स्तरमा उत्पादन गरेका सामाग्रीहरुलाई विराटनगरमा बजारीकरणको योजना रहेको कार्यक्रम अधिकृत बस्नेत बताउँछन् ।
सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, पर्यटन व्यवसाय संघ, नेपाल उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुको संयुक्त सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुद्धारा उत्पादन गरेका सामाग्रीलाई बजारीकरण गर्न लागिएको उनले जानकारी दिए ।