विराटनगर । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकै राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा आईतबार दिउसो चोरी भयो । चोरीमा संलग्न दुई बालक पक्राउ पनि परे । विराटनगर १२ का सुनिल कामतका दुई छोरालाई स्थानियले पक्राउ गरे । पक्राउ परेका दुई बालकलाई विजुलीको तारले खुट्टामा बाँधेर चौरीमा केही बेर राखे पनि ।
तर पक्राउ परेका बालकलाई प्रहरीको जिम्मा लगाउने की नलगाउने भन्ने विषयमा उनीहरु दोधारमा परे । स्थानियवासी दोधारमा पर्नुको पछाडी ती पक्राउ परेका बालकहरु यस अघि पटक पटक चोरी गरेको आरोपमा पक्राउ पसिरसकेका थिए । उनीहरुलाई पक्राउ गरे पनि प्रहरीले साना बालबालिका भनेर छाड्ने गरेको थियो । पक्राउ परेका बालकलाई कुनै कारबाही नगरी त्यसै छाडिदिने गरेका कारण पुनः ती बालकहरु सोही स्थानमा चोरी गर्न पुगेको स्थानीय बताउँछन् । सिंहको घरमा यस अघि गत कात्तिक २२ गते दिउसो चोरी भएको थियो । श्रीमान श्रीमति नै जागिरे भएका कारण कार्यालय जानुपर्ने बाध्यता हुन्थ्यो । सिंह दम्पत्तीका बालबच्चा समेत स्कुल गएको समयमा ३ लाख बराबरको सामान चोरी भएको थियो ।
यसरी पटक पटक चोरीमा संलग्न बालकहरुलाई कारबाही नगरी त्यसै छाडिदिएका कारण स्थानियबासी प्रहरी र चोरहरुसँग अजित भईसकेको बताउँछन् ।
यसैविच आईतबार चोरी भएको स्थानमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापा पुगे । स्थानियले बाधेर राखेका दुई बालकलाई उद्धार गरी प्रहरीको भेन राखे । बालकलाई पक्राउ गरे पनि स्थानियवासी भने प्रहरीसँग असन्तुष्ट थिए । पटक पटक पक्राउ परे पनि कारबाही नगरी छाडिदिएका कारण स्थानियबासीले प्रहरी निरीक्षक दिपक थापासँग पक्राउ गरेपछि कार्वाही गर्न वा सुधार गृह पठाउन आग्रह गरे ।
दुई महिना अगाडी सोही स्थानमा समाजबादी पार्टी नेपालका नेता राजकुमार यादवको घरमा समेत चोरी भयो । घरमा कोहि नभएको समयमा चोरहरुले दिउँसै घरमा प्रबेश गरेर चोरी गरेका थिए । यादवको घरको दराज फोडेर चोरहरुले ३ तोला सुन र ४० तोला चांँदी चोरेर भागेको यादवले बताए ।
विराटनगरमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षा महशुस गर्न थालेका छन । यसअघि रातीको समयमा चोरी गर्ने गरेको घटना बाहिर आईरहेको बेला पछिल्लो समय दिउँसै चोरी हुन थालेको छ । यसरी दिउँसै हुने चोरीको घटनामा बालबालिकाको संलग्नता रहेको समते फेला परेको छ । साना बालबालिकालाई प्रयोग गर्न ठुलाको हात हुने गरेको फेला परेको हो ।
दिन दहाडै बालबालिकाहरुलाई चोरी गर्नमा प्रयोग गरिएको भेटिएको छ ।
गत आर्थिक बर्षमा मोरङ जिल्लामा चोरीका १०५ वटा घटना भएकोमा चालु आर्थिक बर्ष हालसम्म ५१ वटा चोरीको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रबक्ता मानबहादुर राईले जानकारी दिए ।