विराटनगर । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रमिक महिलालाई सम्मान गरिएको छ । आइतबार विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा १५ जना श्रमिक महिला सम्मानित भएका हुन् । सरसफाई, कृषि, औद्योगिक, निमार्ण, चिया क्षेत्रसंग सम्बन्धित श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा यमकला मग्राती, खेदनी देवी महतो, हर्कमाया सार्की, निर्मला थापा, कागती रिसिदेव सदा, कमला शर्मा(बढी), सिता देवि डोम, अञ्जना कोजिज्यू (श्रेष्ठ), सृजना उराउ, वविता विष्ट, दुलारी देवी सेवरीया, दुश्यत देवी रिसिदेव, सुमि हेमरम (सतार), निर्मला डंगोल र अम्बिका अधिकारी सम्मानित भएका हुन् ।
श्रमिक महिलाहरुलाई ५ हजार नगद र दोसल्ला सहित सम्मान गरिएको थियो । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, उपसभामुख सरस्वती पोखरेल, सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मानित गरेका थिए । कार्यत्रमका विच अतिथिहरुले कोरोना भाइरस सम्बन्धि सचेतनाका लागि साबुन पानिले हात धोएका थिए ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शेरधन राईले महिलाहरुको अधिकार सिमित मात्र रहेको बताए । अझै पनि महिलाहरुले आधा तलबमा काम गरिरहनु पर्ने अवस्था रहेको उनको भनाइ छ । उनी भन्छन् –‘आज पनि महिलाहरु माथि उठेर काम गर्न नसक्ने अवस्था छ । महिलाहरुले हिंसा र विभेदमा बाँचिरहु परेको छ ।’ उनले हामी सबैले महिलाहरुलाई हेर्ने दृष्टिकोण राम्रो बनाउनु पर्छ र महिलाहरुलाई प्राथमिकतामा राखेर अवसरहरु दिनु पर्ने बताए ।
त्यसै गरी कार्यक्रममा बोल्दै डा. सरोज विशालले कोरोना भाइरसको जोखिम तथा रोकथामको बारेमा सहभागिलाई जानकारी गराएका थिए ।