केही निजी स्कुलहरुले चैत्र ५ भित्र सबै परीक्षा सम्पन्न गर्नु भनी सरकारले दिएको निर्देशन विविध कारणले पालना गर्न चाहेनन् । विशेषत कोरोना भाईरसको संक्रमण नदेखिएको हुनु र नेपाल सरकारले संचालन गर्ने एसईईको तालिका अगाडि नसारिनुले मलाई समेत ठूलो द्विविधा थियो ।
हुनपनि अहिले सरकार वाध्य बन्न पुग्यो तर त्यसैबेला अलिकति पनि दुरदर्शिता राखिन्थ्यो भने नि:सन्देह करोडौँ रकम स्वाहा हुन्थेन । यस कुरामा केन्द्रीय प्याब्सन कसरी सहमत भएर एकांकी रुपमा आफ्ना सदस्य विधालयहरुलाई मात्र दवाब दिई रह्यो तर एसईईलाई पनि एक रुपमा सचालन गरिनु पर्दछ भनेर किन भन्न सकेन, उदेक लाग्दो बिषय थियो । मैले भने प्याब्सन मोरंगका अध्यक्ष अर्जुन बस्नेत, प्याब्सन बिराटनगरका अध्यक्ष ईन्द्र राई, प्याब्सन केन्द्रीय सदस्यद्वय बासुदेव न्यौपाने र राजेश कुमार दाससँग यस बिषयमा विमति सहित केहि पेशागत बिषयमा छलफल गरेको थिएँ ।
यसरी दुई धारे र अस्पष्ट परिस्थिती बने पछि केही विधालयहरुले एस् ई ई को तालीका भित्रै परीक्षा सक्ने सोच बनाए, आन्तरीक तयारी पुरा गरे तर सार्वजनिक गरेनन । मुलत: यसको एक मात्र कारण भनेको महिनौँ देखि बक्यौता रहेको फीस उठाउनु रहेको सबैले बुझेकै तथ्य हो । फेरि चैत्र ५ गते नै परीक्षा सक्दा चैत्र महिनाको फीस माग्न असजिलो हुने त होइन भन्ने मनोदशामा त्यस्ता केही विधालयहरु पुगेको हुनु पर्दछ ।
तर सबै तयारी पूरा भैसकेको अवस्थामा ढिलो गरी जब हिजो सरकारले एसईई लगायत बिहिबार देखिका सबै परीक्षा रोक्ने निर्णय ग-यो तब त्यसरी अघिल्लो निर्देशन पूरा नगरेका र ५ गते सम्म परीक्षा सम्पन्न नगरेका बिराटनगर क्षेत्रका करीब १ दर्जन विधालयहरुलाई के गर्ने भन्ने धर्म संकट प-यो । केहिले फटाफट हिजो बेलुकी नै ‘बाँकी परीक्षा अर्को सूचना नहुन्जेल सम्मका लागि’ स्थगित गरे ।
तर त्यस पछि पनि बाँकी रहेका स्वनामधन्य विधालयहरु वा तिनका प्राचार्यहरुले आज समेत परीक्षा संचालन गरेर विधमान परिस्थितीको हुर्मत काढे । समाजले विद्वत समुदाय मानेको र समाज र राष्ट्रलाई उज्यालो तर्फ डो-याउनु पर्ने यो ‘एलाइट कम्युनिटी’ खोई कसरी सोच्दछ, अब अरुले सोच्नु पर्ने भएको छ ।
अब अर्को पक्ष । हिजो सम्म परीक्षा नसक्ने र सरकारको नयाँ निर्णय वाध्यतावश ’स्वीकार’ गरी अर्को सूचना नहुन्जेल स्थगित गर्ने केही विधालयका संचालक भने ‘हामीले रोक्यौँ तर केहिले आज पनि परीक्षा संचालन गरे’ भनेर फेसबूक भित्तो फोहोर गरिरहेका छन् । हिजो सम्म स्वार्थ मिल्यो त्यसैले साथी, आज स्वार्थ बाझ्यो त्यसैले वैरी ? माछा आए भित्र हात, सर्प आए बहिर हात ? यो प्रवृति त हामी लाई शोभा दिन्न तसर्थ यस्तो रोइलो तत्काल बन्द हुनु पर्दछ र रचनात्मक दिशामा एकढिक्का भएर प्याब्सन सदस्यहरु अगाडि बढ्नु पर्दछ ।
अब गर्ने के ?
१) पेशागत संगठन भए पछि अल्पकालीन, दीर्घकालीन र आपतकालीन नीति अख्तियार गर्ने
२) सस्टेनेबिलिटीलाई सबैले मूल लक्ष्य बनाउने
३) प्याब्सनका केन्द्रीय अध्यक्षले भने जस्तो स-साना स्कुलहरु मर्जरमा जाने
४) फीस र परीक्षालाई कोइन्साइड गराएर जाँच लिए जस्तो नगर्ने ।
५) बजेट बनाउने, लागत अभिभावकहरुमा पास्-अन गर्ने । उदाहरणका लागि रु ५०० मा बस सुविधा नदिने, १५ हजारमा एक वर्ष नपढाउने
६) पे ब्याक पिरियड ख्याल राख्ने, वितीय श्रोतको पहिचान र परिचालन् गर्ने । जस्तो कि पूँजी, बैंक कर्जा आदि
७) स्कुलले योग्य नागरिक जन्माउने हो तसर्थ ’त्यागी, तपस्वी’ स्वाभाव बाहेककाले यो पेशा नअँगाल्ने ।
आदि ।
यो मेरो व्यक्तिगत सोच हो, फरक एवम् भद्र विमति वा विचारहरु प्रति मेरो सम्मान सदैव रहेकै छ र रहने छ । र मेरो उद्देश्य कसै प्रति लक्षित वा द्वेस ग्रसित नरहेको पनि अनुरोध गर्न चाहन्छु । धन्यवाद ।
-चिरञ्जीवी तिम्सिना