भारतको कर्नाटक राज्यको कोलारमा बस्ने दुई दाजुभाइ मुजम्मिल र तजम्मुलले लकडाउनमा गरिबलाई खाना खुवाउनका लागि २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन् ।
मुजम्मिल कान्छा भाइ हुन् ।
३७ वर्षका मुजम्मिलले बीबीसीसँग भने, ‘हामीलाई लाग्यो कि धेरैजसो मानिस गरिब छन्, उनीहरुसँग खानका लागि केही पनि छैन । कुनै समयमा हामी पनि असाध्यै गरिब थियौं । कसैल पनि हामीमाथि भेदभाव गरेनन्, सहयोग नै गरे ।’
जब यी दाजुभाइलाई लकडाउनका कारण धेरैजसो गरिब भोकमरीसँग जुधिरहेको भन्ने महसुस भयो तब उनीहरुले आफ्नो जमिनको टुक्रा नै बेच्ने निर्णय लिए ।
उक्त जग्गामा उनीहरुले आफ्नो बगानका वस्तु भण्डार गर्दथे ।
मुजम्मिल भन्छन्, ‘हामीले जमिनको त्यो टुक्रा एक साथीलाई बेचिदियौं । ऊ निकै उत्कृष्ट व्यक्ति हो, उसले हामीलाई त्यो जमिनको साटो २५ लाख भारु दिए । यतिबेला अन्य धेरै साथीहरुले पनि आ–आफ्नो तर्फबाट सहयोग गरे । कसैले ५० हजार दिए त कसैले १ लाख । अहिलेसम्म कति रकम खर्च भयो भनेर भन्नु ठिक होइन । यदि ईश्वरलाई थाहा छ भने त्यो नै पर्याप्त छ ।’
कुनै भेदभाव बिना नै मद्दतः
उनी भन्छन्, ‘हामीले गरिबलाई खाना दिन सुरु गर्यौं र कोही समस्यासँग जुधिरहेका छन् भन्ने थाहा हुन्छ तब हामी ती व्यक्तिलाई १० किलो चामल, २ किलो आटा, एक किलो दाल, एक किलो चिनी, सय–सय ग्राम गरेर धनिया, रातो खुर्सानी, बेसार, नुनका साथै साबुनलगायतका सामान प्रदान गर्छौं ।’
रमजान सुरु भएको दुई दिन भइसकेको छ र यी दुई दिनमा साढे दुई हजारदेखि तीन हजार व्यक्तिलाई खानको प्याकेट दिइएको छ र आवश्यक सामान पनि ।
यी दुई दाजुभाइले निकै सानो उमेरमा आफ्ना बुवालाई गुमाएका थिए ।
बुवाको मृत्यु हुँदा दाइ चार वर्षका थिए भने भाइ तीन वर्षका थिए ।
तर दुःखको सिलसिला यत्तिमा मात्रै सिमित भएन ।
बुवा बितेको ४० दिनमात्रै भएको थियो, आमाको पनि निधन भयो । यी दुईलाई उनीहरुका हजुरआमाले हुर्काएकी हुन् ।
एक स्थानीयले उनीहरुलाई मस्जिदमा बस्न स्थान दिए ।
मस्जिद नजिकै एउटा मण्डी थियो जहाँ दुई भाइले काम गर्न सुरु गरे ।
मुजम्मिल भन्छन्, ‘हामी खासै पढेलेखेका छैनौं । सन् १९९५–९६ मा हामीले हरेक दिन १५ देखि १८ रुपैयाँ कमाउँथ्यौं । केही वर्षपछि मेरा दाइले मण्डी सुरु गर्नेबारे सोचे ।’
ती दुई दाजुभाइले थप मण्डी सुरु गरे । उनीहरु आन्ध्र प्रदेश र तमिलनाडुबाट पनि केरा ल्याउँछन् र डिलरसँग थोक व्यापार गर्छन् ।