अस्वस्थकर मासु खान बाध्य उपभोक्ता

<span class='c1'>अस्वस्थकर मासु खान</span> <span class='c2'>बाध्य उपभोक्ता</span>

उपभोक्तालाई स्वस्थकर मासु बिक्री वितरणका लागि भन्दै पशु वधशाला तथा मासु जाँच ऐन बनेको १७ वर्ष पुग्यो । तर अधिकांश सहरमा व्यवस्थित वधशाला निर्माण हुनै सकेको छैन । झापाका बजारमा समेत खुल्ला रूपमा मासु बिक्री हुने गरेको छ । यस्ते ऐनले व्यवस्था गरेअनुसार पशुवध गर्नुअघि स्वास्थ्य परीक्षण त कतै पनि हुन सकेको छैन ।
पशु वधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार पशुको स्वास्थ्य जाँच नगरी मार्न पाइँदैन । मार्दा पनि वधशालाकै प्रयोग हुनुपर्छ । तर वधशालाको अभावमा सडक किनारा, बजार क्षेत्र तथा जहाँसुकै वध हुने गरेको छ । मासु व्यवसायीहरू भने उपभोक्तामा समेत सजगता नआउँदा अस्वस्थकर मासुको बिक्री हुने गरेको बताउँछन् । मासु व्यवसायी संघ झापाका अध्यक्ष उद्धव न्यौपाने व्यवसायीहरूको प्रयासमा स्वस्थकर मासु बिक्रीको प्रयास थालिए पनि प्रभावकारी हुन नसकेको स्वीकार्छन् । “मासु काटेर फ्रिजमा राख्यो उपभोक्ताले लिनै मान्दैनन्,” उनले भने, “मासु किन्नेले फ्रिजको मासु बासी भन्छन्, बुझाउन खोज्यो भने अन्त गइहाल्छन् ।”

संघका अनुसार दमक एकाइमा मात्र करिब ६ सय मासु व्यवसायी छन् । ती पसलमार्फत् दिनको २ हजार ४ सय केजीको हाराहारीमा मासु बिक्री हुन्छ । वधशाला निर्माणका लागि ठूलो लागत चाहिने र व्यवसायीको मात्र प्रयासले सम्भव नहुने भएकाले सरकारी निकायले कार्यक्रम ल्याए सहकार्य गर्न तयार रहेको न्यौपानेले बताए । पशु सेवा कार्यालय झापाका अनुसार स्थानीय निकायको चासो र सरकारी कार्यक्रमले मात्र व्यवस्थित वधशाला निर्माण सम्भव छ । ऐनले उपभोक्तालाई स्वस्थकर मासु बिक्रीको सुनिश्चिता गरे पनि कार्यान्वयनको अभाव देखिएको कार्यालयका सूचना प्रमुख कुमारसिंह खत्री बताउँछन् । जिल्लामा हालसम्म कहीं पनि सुविधा सम्पन्न पशु वधशाला निर्माण भएको छैन । केही सहरमा सीमित संख्यामा बिक्रीकक्ष रहे पनि ती अपुग रहेको उनको भनाइ छ ।

विज्ञहरू भने स्वस्थकर मासु बिक्रीका लागि स्वस्थकर पशुपालन पनि आवश्यक रहेको बताउँछन् । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका कृषि कार्यक्रम संयोजक मित्र खत्री पशुलाई स्वस्थकर आहारा दिइयो भने मात्र स्वस्थकर मासु तयार हुने बताउँछन् । तर स्वस्थकर मासु भए पनि अवस्थकर ढंगबाट वध र बिक्री गरेमा उपभोक्ताले पोषणको सट्टा मन्द विष सेवन गर्ने उनको भनाइ छ । “पशुलाई आफूखुसी औषधि खुवाएमा, असहज रूपमा पालिएमा तथा रसायनयुक्त औषधिहरूको अधिक प्रयोग गरेमा मासुमा क्रमिक रूपमा त्यो रसायन जम्मा हुन्छ,” उनले भने, ‘अनि मानव स्वास्थ्यका लागि हानीकारक रसायनले भरिएको मासु उस्तै फोहोरी ढंगबाट बिक्री गरेपछि उपभोक्ताले मासु होइन विष  खाइरहेका हुन्छन् ।” त्यसको दीर्घकालीन प्रभाव खतरनाक पनि हुनसक्ने उनले सुझाए । मासु व्यवसायीसमेत रहेका उनी स्वस्थकर मासु बिक्री र यसको प्रत्याभूतका लागि बनेको कानुन कार्यान्वयनका लागि उपभोक्ता पनि जागरुक हुन आवश्यक रहेको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्